एशियन लाइफद्वारा रास्कोटमा एकै दिन दुई मृतकका परिवारलाई ११ लाख बीमा दाबी भुक्तानी

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कालिकोटको रास्कोट नगरपालिकामा मृत्यु बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ। कम्पनीको कालिकोट शाखाले एकै दिन दुई जना मृतकका परिवारलाई करिब ११ लाख रुपैयाँ बराबरको बीमा दाबी रकम प्रदान गरेको हो।
कम्पनीका शाखा प्रवन्धक जन्मदेव बराल, अपरेसन इन्चार्ज लिलाराज संज्याल तथा सक्रिय अभिकर्ताको उपस्थितिमा मृतक शंकर प्रसाद बरालकी आमा अमृता बराल र विर्ख बहादुर बोगटीकी श्रीमती गोमा बोगटीलाई दाबी रकम हस्तान्तरण गरिएको शाखाले जनाएको छ।
रास्कोट नगरपालिकास्थित रास्कोट अस्पतालमा कार्यरत शंकर प्रसाद बराल अचानक हृदयाघातका कारण २०८२ साल भदौ ३१ गते बिहान आफ्नै घरमा निधन भएका थिए। रास्कोटबासीबीच मिलनसार र भरपर्दो राष्ट्रसेवक कर्मचारीका रूपमा परिचित उनी एशियन लाइफ इन्स्योरेन्समा पाँच लाख रुपैयाँको जीवन बीमा गरेका थिए। उनले पाँच किस्तामार्फत कुल एक लाख ७२ हजार रुपैयाँ प्रिमियम भुक्तानी गरेका थिए। उनको निधनपछि परिवारले पाँच लाख ३८ हजार रुपैयाँ बराबरको मृत्यु बीमा दाबी रकम प्राप्त गरेको हो।
यसैगरी रास्कोट नगरपालिका–९ निवासी विर्ख बहादुर बोगटी रोजगारीको सिलसिलामा भारतको कर्नाटक राज्यको बेङ्गलुरुमा रहेका बेला दुर्घटनामा परेर निधन भएका थिए। बिहान छतमा पानी हाल्ने क्रममा घरको छतबाट खसेर उनको मृत्यु भएको थियो। उनले २०८१ साल भदौमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा दुई लाख रुपैयाँको जीवन बीमा गर्दै पहिलो किस्ताबापत १५ हजार रुपैयाँ मात्र बुझाएका थिए। दोस्रो किस्ता बुझाउनुअघि नै दुर्घटनाका कारण मृत्यु भएपछि उनका परिवारले दुर्घटना मृत्यु दाबीबापत चार लाख तीन हजार रुपैयाँ प्राप्त गरेका छन्।
दुवै विमितको मृत्यु बीमा दाबी भुक्तानी २०८२ साल पुस ५ गते रास्कोट नगरपालिकामा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ। कम्पनीले समयमै दाबी भुक्तानी गरी बीमाप्रति नागरिकको विश्वास अभिवृद्धि गर्न निरन्तर प्रतिबद्ध रहेको पनि जनाएको छ।













