नेपाल ट्रस्टको जग्गा लिज काण्डमा मुख्य अभियुक्त जोगाउन सरकारी वकिल र न्यायाधीशको सेटिङ

पूर्वसचिव, सहसचिवद्वयलाई धरौटी सुविधा
११ पुष २०८२, शुक्रबार १०:५१

काठमाडौं । भ्रष्टाचारविरुद्ध भएको जेनजी विद्रोहपछि उत्पन्न राजनीतिक संकट चुलिँदा न्यायाधीशहरु ठूला भ्रष्टाचार काण्ड मच्चाउने अभियुक्तहरुलाई नै सुविधामाथि सुविधा दिइरहेका छन् ।

नेपाल ट्रस्टको दरबारमार्गस्थित एक रोपनी १४ आना जग्गा लिजमा भएको अनियमिततामा पाँच अर्ब २५ करोड ६३ लाख रुपैयाँ बिगो कायम गरी दायर भएको मुद्दाका अभियोगी दुई कर्मचारीलाई जिल्ला अदालत काठमाडौंका न्यायाधीशले धरौटी सुविधा दिएका छन् । संगठीत अपराध अन्तर्गत फौजदारी अभियोग लगाइनु पर्नेमा सरकारी वकिलको सेटिङमा नेपाल सरकारका पूर्वसचिव अर्जुनकुमार कार्की र अर्का अभियुक्त पूर्वसहसचिव लेखबहादुर कार्की दुबैलाई जिल्ला न्यायाधीश रामचन्द्र खड्काले धरौटीको सुविधा दिएका हुन् ।

काठमाडौं जिल्ला अदालतले अर्बौं घोटालाको मुद्दामा पूर्वसचिव अर्जुन कार्कीलाई ६ लाख र पूर्वसहसचिव लेखबहादुर कार्कीलाई १० लाख धरौटीमा तिराएर रिहा गरेको छ । तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की, थामसेर्कु ट्रेकिङका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा र थामसेर्कु ट्रेकिङ कम्पनीलाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर गरेको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान सकेर सरकारी वकिललाई मुद्दा बुझाएको थियो । सीआईबीले संगठित अपराध र आपराधिक विश्वसघात मुद्दामा पनि अभियोग गर्न सिफारिस गरे पनि सरकारी वकिल कार्यालयले ठगीको मात्र कसुरमा अभियोगपत्र दर्ता गर्नुले नै सेटिङको शंका जन्माएको थियो ।

सरकारी वकिलबाटै मुद्दा कमजोर पारेर पठाइएकामा न्यायाधीशले समेत धरौटी सुविधा दिएर सीआईबीको अनुसन्धानमाथि चिसो पानी खन्याइदिएका छन् ।प्रतिवादी बनाइएका शेर्पाको बयान नै नलिई मुद्दा दायर गरिएको समेत बुझिएको छ । यो प्रकरण यती होल्डिङ्स र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत जोडिने भएका कारण पनि यसमा ठूलो आर्थिक चलखेलको शंका गरिएको छ ।

पैसा र पावरका बलमा शेर्पाले उच्च अदालत पाटनबाट पहिले निषेधाज्ञाको रिट हालेर स्टे अर्डर लिएका थिए । तत्कालीन सचिव र सहसचिवलाई भने पक्राउ गरिएको थियो । बोलपत्रकै क्रममा सम्झौता रकम घटाएर चार अर्ब ८६ करोड २५ लाख नोक्सान गरेको, तीन तलाका लागि सम्झौता भएकामा पाँच तला बढाएकाले त्यसबापतको ३८ करोड ८४ लाख ५३ हजार रुपैयाँ नेपाल ट्रस्टलाई घाटा भएको भन्दै ठूलो रकम बिगो कायम गरिएको छ । त्यस्तै, बाटोको तीन आना जग्गासमेत प्रयोग गरेका कारण त्यसमा पनि ५३ लाख ४४ हजार बिगो कायम गरिएको छ ।

यो हिनामिना काण्डमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका निजी सचिव राजेश बज्राचार्य जोडिएका थिए । बज्राचार्यले तारा एयरबाट बालकोटमा घर लिएको देखिएकामा यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अनुसन्धान गर्न सीआईबीले राय दिएको छ । बज्राचार्य बारेको फाइल समेत सरकारी वकिल कार्यालयले तामेलीमा राखिदिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*