डडेल्धुरामा युवापुस्ताको उदय: अनिल बोहरा प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस

११ पुष २०८२, शुक्रबार १७:४३

अपडेट: नेकपा भित्र सिफारिस गरेका ब्यक्तिका विषयमा विभिन्न समुहले फरक-फरक दाबी गर्दै आएका छन्। गुट अनुसार फरक-फरक ब्यक्ति सिफारिस भएको लिष्ट सार्वजनिक भइरहेका हुन् । 

काठमाडौँ । विद्यार्थी राजनीतिमा लामो समयदेखि सक्रिय युवा नेता अनिल बोहरा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) डडेल्धुराबाट प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस भएका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेकपा डडेल्धुरा जिल्ला कमिटीको बैठकले बोहरासहित चार जनाको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो ।

नेकपाको निर्णयअनुसार जेन जी तर्फबाट अनिल बोहरा र मुकुन्द भट्ट, खुल्लातर्फबाट मानसिंह माल (क्रान्ति) तथा महिलातर्फ निरादेवी जैरुको नाम सिफारिस गरिएको हो । यीमध्ये विद्यार्थी आन्दोलन र भूगोलमा राम्रो पकड बनाइसकेका बोहरालाई पार्टीभित्र मात्र नभई बाहिर पनि बलियो उम्मेदवारका रूपमा हेरिन थालिएको छ । लामो समयदेखि विद्यार्थीका हकहित, शैक्षिक सुधार र सामाजिक न्यायका मुद्दामा निरन्तर मैदानमा खटिँदै आएका बोहराको राजनीतिक यात्राले उनलाई आम युवामाझ चिनाएको छ ।

विद्यार्थी राजनीतिबाट उदाएका बोहरा संगठन निर्माण, आन्दोलनको नेतृत्व र वैचारिक स्पष्टताका कारण चिनिन्छन् । उनले क्याम्पस राजनीतिदेखि सडक आन्दोलनसम्म सक्रिय भूमिका खेलेका छन् । शैक्षिक असमानता, बेरोजगारी, भ्रष्टाचार र केन्द्रिकृत राजनीतिका विरुद्ध बोहराले उठाएका आवाजले उनलाई युवा पुस्ताको प्रतिनिधि पात्रका रूपमा स्थापित गरेको समर्थकहरूको दाबी छ । यही पृष्ठभूमिका कारण डडेल्धुरामा नेकपाको सिफारिसलाई सामान्य राजनीतिक प्रक्रियाभन्दा फरक ढंगले हेरिएको छ ।

अहिले नेपाली राजनीतिमा नयाँ पुस्ताको प्रवेशको बहस तीव्र बनेको छ । जेन जी आन्दोलनपछि विशेषगरी युवाहरूमा राजनीतिक चेतना र सहभागिता बढेको देखिन्छ । परम्परागत नेताहरूको वर्चस्व, दोहोरिँदै आएका अनुहार र लामो समयदेखि सत्तामा रहेका नेताप्रति असन्तुष्टि बढिरहेका बेला युवाहरूले नयाँ विकल्प खोजिरहेका छन् । यही राजनीतिक परिवेशमा नेकपाबाट बोहराजस्ता युवा नेताको सिफारिसलाई समयसापेक्ष निर्णयका रूपमा व्याख्या गरिएको छ ।

डडेल्धुरा जिल्ला नेपाली राजनीतिमा विशेष अर्थ राख्ने भूगोल हो । यहाँबाट नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पटक–पटक निर्वाचित हुँदै आएका छन् । यसपटक पनि देउवा उम्मेदवार हुने निश्चित जस्तै देखिएको छ । यही कारण नेकपाबाट सिफारिस भएका उम्मेदवारहरू देउवासँग प्रतिस्पर्धा गर्नेछन् । लामो राजनीतिक अनुभव र राज्यसत्तामा पहुँच भएका देउवाविरुद्ध युवाको उम्मेदवारी आफैंमा चासोको विषय बनेको छ ।

यसपटकको निर्वाचन केवल व्यक्ति वा पार्टीबीचको प्रतिस्पर्धा मात्र नभई पुस्तान्तरणको संकेत पनि हुन सक्छ । ७० वर्ष नाघेका नेता देउवा र युवा पुस्ताको प्रतिनिधित्व गर्ने बोहराबीचको सम्भावित भिडन्तले डडेल्धुराको चुनावलाई राष्ट्रिय चासोको विषय बनाउने देखिएको छ । लामो समयदेखि एउटै नेताको प्रतिनिधित्वमा रहेको जिल्लामा परिवर्तनको चाहना कति बलियो छ भन्ने कुरा यही निर्वाचनले देखाउने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*