युरो र अमेरिकी डलर तस्करीमा भरियालाई जेल, योजनाकारलाई उन्मुक्ति

१४ पुष २०८२, सोमबार १२:२४

काठमाडौं । युरो र अमेरिकी डलर तस्करी प्रकरणमा भरियालाई फेरि जेल कोच्ने र माफियालाई उन्मुक्ति दिने प्रपञ्च भएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले युरो र अमेरिकी डलर ओसार्दै गरेका ट्रक चालक कुसाङ लामा र मालिक भनेर चिनाइएका नारायण पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) सम्बन्धी कसुरमा समेत मुद्दा दर्ता गरेको छ । दुबैविरुद्ध २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ बिगो कायम गरी जिल्ला सरकारी वकिलले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

यसअघि उनीहरुविरुद्ध विदेशी विनिमय कसुरको मुद्दा दर्ता भएको थियो । राजस्व अनुसन्धान विभागले गएको वैशाख २ मा २५ करोड बिगो कायम गरेर दुवैविरुद्ध विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ बमोजिम मुद्दा दायर गरेको थियो । पौडेल ३५ लाख धरौटी बुझाएर छुट्दा लामा थुनामै रहेको सरकारी वकिल कार्यालयले जनाएको छ ।

विदेशी मुद्रा अपचलनको मुद्दा विचाराधीन रहेकै अवस्थामा उनीहरुलाई सेटिङमा नयाँ मुद्दा थपिएको बताइँदै छ । ट्रक धनी भनिएका पौडेललाई मुख्य विदेशी मुद्रा कारोबारी किटान गरेर फरार प्रतिवादीका रुपमा मुद्दा दर्ता भएको छ । सिन्धु मटेरियल प्रालिका सञ्चालक पौडेलले यसअघि पनि विभिन्न मुद्दा खेपिसकेका छन् ।

२०८१ चैत ४ गते राति ११ बजेतिर काठमाडौंको टोखादेखि रसुवातर्फ जाँदा झोरमा ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । ट्रकको खानतलासी गर्दा प्रहरीले क्याविनमा फल्स बटम बनाई लुकाइराखेको खैरो रंगको टेपले बेरेको अवस्थामा ६० वटा बन्डलमा १३ लाख ७५ हजार १५० युरो र तीन लाख २० हजार ८५० अमेरिकी डलर बरामद गरेको थियो । यो रकम तत्कालीन अवस्थाको विनियम दरअनुसार २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ हुन आउँछ ।

लामा र पौडेल विदेशी मुद्रा युरो र अमेरिकी डलरको कारोबारमा संलग्न रहेको भन्दै प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाए पनि उनीहरु घर जग्गा, बैंक र सहकारी कारोबारका साझेदार रहेको बताइएको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ (१) (ग) बमोजिमको सम्पत्ति धारण गरेको पुष्टि भएको भनी अहिले आरोपपत्रमा लेखिएको छ । थुनामै भएका लामालाई समेत फरार प्रतिवादीका रूपमा मुद्दा दर्ता गरिएको छ भने पौडेलको थप सम्पत्ति र कारोबारको छानबिन नगर्ने तथा हालकै बरामदी रकममै केन्द्रित भई मुद्दा दायर गरिएको कुराले यो प्रकरणलाई शंकास्पद बनाएको छ ।

अर्कोतर्फ खासमा यो प्रकरण पूर्व अर्थमन्त्री विष्णु पौडेल र पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवासँग समेत जोडिने बताइन्छ । उपल्लो तहको कनेक्सन लुकाउन असली माफियाहरुलाई उम्काइएको यो प्रकरणका असली खेलाडी रमेश शेर्पा र आरजु निकटस्थ व्यापारी राकेश अडुकिया हुन् । यो पर्दामा नदेखाउन रमेश शर्पालाई भेप तस्करीको मुद्दामा जोडिएको छ भने राकेशको नाम कतै अनाउने गरी सेटिङ मिलाइएको छ । त्यसरी सेटिङ मिलाउने सुत्रधार आरजुका सहोदर भाइ भूषण राणा रहेको बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*