ईभी गुणस्तरमै प्रश्न उठेपछि फोर्ड पछि हट्यो, विभिन्न मोडलका उत्पादन नै बन्द

१६ पुष २०८२, बुधबार १२:२२

काठमाडौँ । अमेरिकाको प्रमुख अटोमोबाइल कम्पनी फोर्ड मोटरले विद्युतीय सवारीसाधन (ईभी) रणनीतिमा ठूलो युटर्न लिँदै १९.५ अर्ब डलर बराबरको ‘राइटडाउन’ गर्ने र धेरै ईभी मोडलहरू पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ । कम्पनीको यो निर्णय विद्युतीय गाडीप्रतिको घट्दो उपभोक्ता माग, गुणस्तरसम्बन्धी गम्भीर प्रश्नहरू र अमेरिकी सरकारको नीति परिवर्तनसँग प्रत्यक्ष रूपमा जोडिएको देखिएको छ ।

डियरबर्न, मिशिगनमा मुख्यालय रहेको फोर्डले हाल उत्पादन हुँदै आएको पूर्ण विद्युतीय एफ–१५० लाइटनिङ ट्रकलाई क्रमशः हटाउँदै ग्यास इन्जिनमार्फत ब्याट्री चार्ज हुने ‘एक्सटेन्डेड–रेन्ज’ मोडल ल्याउने जनाएको छ । यससँगै ‘टी–३’ कोडनेम दिइएको अर्को पुस्ताको विद्युतीय ट्रक र योजनामा रहेका विद्युतीय कमर्सियल भ्यानहरू पनि रद्द गरिएको छ ।

फोर्डका प्रमुख कार्यकारी अधिकृत जिम फार्लीले पछिल्ला महिनाहरूमा बजार अवस्था नाटकीय रूपमा बद्लिएको स्वीकार गर्दै विद्युतीय गाडीहरू अपेक्षित स्तरको माग र विश्वसनीयता कायम गर्न असफल भएको संकेत गरेका छन् । उनका अनुसार उपभोक्ताहरूले ईभीलाई महँगो, दायरा कम हुने, चार्जिङ असुविधाजनक र दीर्घकालीन गुणस्तरमा शंकास्पद ठान्न थालेका छन् ।

कम्पनीले अब ग्यास र हाइब्रिड मोडलहरूमा केन्द्रित हुने रणनीति सार्वजनिक गरेको छ । फोर्डले भविष्यमा हजारौं कामदार भर्ना गर्ने बताए पनि तत्कालका लागि केन्टकीस्थित संयुक्त स्वामित्वको ब्याट्री प्लान्टमा कर्मचारी कटौती गरिनेछ । सन् २०३० सम्ममा हाइब्रिड, एक्सटेन्डेड–रेन्ज ईभी र पूर्ण ईभीहरूको संयुक्त हिस्सा ५० प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ, तर पूर्ण रूपमा ब्याट्रीमा निर्भर गाडीहरूलाई प्राथमिकताबाट हटाइएको स्पष्ट देखिन्छ ।

फोर्डका अनुसार यो ‘राइटडाउन’ मुख्यतः चौथो त्रैमासिकदेखि देखिन थाल्नेछ र सन् २०२७ सम्म असर पर्नेछ । करिब ८.५ अर्ब डलर योजना गरिएका ईभी मोडलहरू रद्द गर्नेसँग सम्बन्धित छ भने दक्षिण कोरियाको एसके अनसँगको ब्याट्री संयुक्त लगानी बन्द गर्दा करिब ६ अर्ब डलर नोक्सानी हुनेछ । बाँकी ५ अर्ब डलर विभिन्न ईभी कार्यक्रमसम्बन्धी खर्चमा जोडिएको छ ।

अटो उद्योगमा यो कदमलाई विद्युतीय गाडीहरूमा देखिँदै आएको गुणस्तरहीनता र अव्यावहारिक व्यवसायिक मोडलको स्वीकारोक्ति मानिएको छ । प्रारम्भिक चरणमा प्रविधिको नाममा हतारिएर बजारमा ल्याइएका धेरै ईभी मोडलहरूमा ब्याट्री क्षय, सर्भिस समस्या, सफ्टवेयर त्रुटि र पुनःबिक्री मूल्यमा गिरावटजस्ता समस्या देखिन थालेपछि उपभोक्ता विश्वास कमजोर बनेको छ ।

अमेरिकामा नोभेम्बर महिनामा विद्युतीय सवारीको बिक्री करिब ४० प्रतिशतले घट्नुले पनि यही अवस्था झल्काउँछ । लामो समयदेखि माग बढाउन दिइँदै आएको ७,५०० डलरको उपभोक्ता कर छुट सेप्टेम्बरमा समाप्त भएपछि बजार झनै खुम्चिएको हो । यसैबीच, राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले ईभीका लागि संघीय समर्थन हटाउँदै इन्धन उत्सर्जनसम्बन्धी नियमहरू खुकुलो बनाएको छ । यसले ग्यास र हाइब्रिड गाडी उत्पादनलाई पुनः प्रोत्साहन दिएको छ ।

सोमबारको घोषणासँगै फोर्डले व्यवहारिक रूपमा आफ्नो दोस्रो पुस्ताका सबै ईभी योजना रद्द गरेको छ । अब कम्पनीले क्यालिफोर्नियास्थित विशेष टोलीद्वारा डिजाइन गरिएका तुलनात्मक रूपमा सस्ता ईभी मोडलहरूमा सीमित ध्यान दिने बताएको छ । फोर्डले करिब ३० हजार डलर मूल्यको मध्यम आकारको ईभी ट्रक सन् २०२७ मा बजारमा ल्याउने योजना बनाएको छ, जसको उत्पादन लुइसभिल प्लान्टमा हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*