अनलाइन ठगी धन्दा डरलाग्दो बन्दैः एकै बर्षमा सर्वसाधारणको अर्ब गायब, नियामक रमिते

दिपक विष्ट
१७ पुष २०८२, बिहीबार १५:५४

काठमाडौँ । नेपाली वित्तीय बजारमा डिजिटल ठगी धन्दाले डरलाग्दो रुप लिँदै गएको छ । प्रविधिको द्रूत विकास र अनलाइन सेवा प्रयोगमा बढ्दो आकर्षणसँगै ठगीको आंकडा समेत निरन्तर बढ्दै गएको देखिएको हो ।

पछिल्ला वर्षहरू अनलाइन ठगीको दायरा बढ्दै जाँदा आम सर्वसाधारणको अर्बौं रकम गुम्दै गएको देखिएको छ । सरल पहुँच र छिटो सेवा दिने डिजिटल वालेट र अनलाइन प्लेटफर्महरूमा डिजिटल ठगीका प्रमुख आधार बन्दै गएको देखिन्छ जसले गर्दा डिजिटल अर्थतन्त्रको आधार नै कमजोर हुँदै गएको हो ।

पछिल्लो तथ्यांक हेर्दा नेपालीहरूको वार्षिक अर्बौं रुपैयाँ बराबर अनलाइन ठगी मार्फत लुटिने गरेको पाइएको छ । पछिल्लो दुई वर्षमा यसको आंकडा अझै भयानक रूपले वृद्धि भइरहेको छ । आर्थिक वर्ष २०८०।०८१ मा अनलाइन मार्फत नेपाली नागरिकको ३४ करोड ७२ लाख रुपैयाँ ठगी भएकोमा एक वर्षमै यसको आकार १४० प्रतिशत अर्थात् साढे २ गुणाले वृद्धि भएको हो । आर्थिक वर्ष २०८१।०८२ मा मात्रै अनलाइन मार्फत् ८३ करोड ५९ लाख ९० हजार १३३ रुपैयाँ ठगी भएको छ । यो आंकडा निकै डरलाग्दो रूपमा विस्तार भइरहेको छ ।

पछिल्लो करिब साढे ४ वर्षमा मात्रै अनलाइन माध्यमबाट सर्वसाधारणको झण्डै २ अर्ब रुपैयाँ गायब भएको छ । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८।०७९ देखि चालु आर्थिक वर्ष २०८२।०८३ को मंसिर मसान्तसम्मको अवधिमा १ अर्ब ८४ करोड ३९ लाख ५८ हजार २७७ रुपैयाँ ठगी भएको पाइएको हो ।

आर्थिक वर्ष २०७८।०७९ मा अनलाइन मार्फत् २८ करोड ९ लाख ४२ हजार र आर्थिक वर्ष २०७९।०८० मा ३६ करोड ७ लाख २० हजार रुपैयाँ ठगी भएको छ । न्यून आकारमा रहेको अनलाइन ठगी प्रविधिको विकाससँगै पछिल्लो समय भने द्रूत गतिमा अघि बढिरहेको छ ।

चालु आर्थिक वर्ष २०८२।०८३ को मंसिर मसान्तसम्म (पाँच महिना) मा १ करोड ९० लाख ८९ हजार रुपैयाँ ठगी भएको छ । जेन जी आन्दोलन र राजनीतिक अस्थिरताका बीच चालु आर्थिक वर्षमा प्रहरीको सक्रियता कमजोर हुँदा अनलाइन मार्फत हुने ठगी उजुरीहरू पर्न सकेका छैनन् । सोही कारण पनि चालु आवमा केही कमी देखिएको छ । तर वास्तवमा अनलाइन ठगीको आकार नेपाली वित्तीय बजारमा मडारिरहेको पाइन्छ ।

समाजिक सञ्जाल र अनलाईन बैंकिङ घातक, यस्तो छ डिजिटल ठगहरूको लुटधन्दा

पछिल्लो समय नेपालमा डिजिटल बजार तीव्र रूपमा विस्तार भएको छ । विशेषगरी फेसबुक, टिकटक, इन्स्टाग्राम, ह्वाट्सएप, ट्विटर लगायतका समाजिक सञ्जाल दैनिक जीवनको अनिवार्य हिस्सा बन्दै गएका छन् । सूचना, ज्ञान र सीपको आदान–प्रदानमा महत्वपूर्ण मानिने यी सञ्जालहरूले सर्वसाधारणलाई जोड्दा डिजिटल ठगीको माध्यम पनि बनेको छ ।

प्रहरीको तथ्याङ्क अनुसार अनलाइन बैंकिङ मार्फत् पछिल्लो साढे चार वर्षमा अर्थात् आर्थिक वर्ष २०७८।०७९ देखि चालु आर्थिक वर्ष २०८२।०८३ को मंसिर मसान्तसम्ममा नेपाली नागरिकहरूले १४ करोड ८३ लाख ९ हजार रुपैयाँको ठगी भोगेका छन् । यसमा सर्वाधिक ठगी आर्थिक वर्ष २०८१।०८२ मा ११ करोड ५४ लाख ४८ हजार रुपैयाँ भएको देखिन्छ ।

विवरणअनुसार आर्थिक वर्ष २०७९।०८० मा १ करोड ८३ लाख ३ हजार, २०८०।०८१ मा १ करोड १५ लाख ६० हजार, २०७८।०७९ मा २१ लाख ९ हजार र चालु आर्थिक वर्ष २०८२।०८३ को पाँच महिनामा ८ लाख ८८ हजार रुपैयाँ अनलाइन बैंकिङमार्फत् ठगी भएको तथ्याङ्कमा उल्लेख छ ।

सामाजिक सञ्जाल मार्फत् पनि साढे चार वर्षमा १० करोड ९७ लाख ९० हजार रुपैयाँ ठगी भएको छ । चालु आर्थिक वर्ष २०८२।०८३ को मंसिर मसान्तसम्ममा ७३ लाख ३० हजार, २०८१।०८२ मा ६ करोड १६ लाख १७ हजार, २०८०।०८१ मा ५७ लाख ८५ हजार, २०७९।०८० मा ३ करोड १ लाख २८ हजार र २०७८।०७९ मा ४९ लाख २७ हजार रुपैयाँ ठगी भएको प्रहरी तथ्याङ्कले देखिएको छ ।

डिजिटल वालेट जस्तै ईसेवा, फोनपे लगायतका भुक्तानी प्रणाली पनि सर्वसाधारणका लागि जोखिमपूर्ण साबित भएको छ । साढे चार वर्षमा सर्वसाधारणको तीन करोड ८० लाख रुपैयाँ विभिन्न अनलाइन भुक्तानी वालेटबाट ठगी भएको छ । यस अवधिमा सर्वाधिक ठगी आर्थिक वर्ष २०७९।०८० मा १ करोड ४१ लाख ४४ हजार रुपैयाँ भएको छ । चालु आर्थिक वर्ष २०८२।०८३ को मंसिरसम्ममा २५ लाख, २०८१।०८२ मा ९९ लाख, २०८०।०८१ मा ८९ लाख र २०७८।०७९ मा २३ लाख रुपैयाँ वालेटबाट ठगी भएको छ ।

अनलाइन सपिङ, फिसिङ, स्क्याम, लट्री, आइडेन्टिटी थेफ्ट, स्पाम र स्पाइवेयरमार्फत पनि नागरिकहरू ठगीको शिकार भएका छन् । २०७८।०७९ देखि चालु आर्थिक वर्ष २०८२।०८३ को मंसिर मसान्तसम्ममा अनलाइन सपिङबाट ९ करोड ६१ लाख ३८ हजार, फिसिङबाट १ करोड ५१ हजार, स्क्यामबाट ४१ करोड ३१ लाख ५६ हजार, लट्रीबाट ४ करोड ४ लाख, आइडेन्टिटी थेफ्टबाट १७ लाख ४६ हजार, स्पामबाट ५८ लाख ६७ हजार, स्पाइवेयरबाट १९ हजार र अन्य माध्यमबाट ९८ करोड ३ लाख ९५ हजार रुपैयाँ ठगी भएको तथ्याङ्क प्रहरीसँग छ ।

डिजिटल प्रविधि सुविधाजनक भए पनि त्यसको प्रयोगमा सचेत नहुँदा सर्वसाधारण सजिलै ठगीको शिकार हुने गरेका छन् । डिजिटल ठगी लगातार बढिरहेको र यसको असर सामान्य नागरिकदेखि व्यवसायीहरूमा व्यापक रुपमा देखिन थालेको छ ।

प्रहरीको सक्रियता समेत फेल खाँदै

अनलाइन ठगी नियन्त्रणमा नेपाल प्रहरी सक्रिय भएर लागे तापनि सफल हुन सकेको छैन । अनलाइन ठगी कम गर्न प्रहरी निकै सक्रिय भएर लागेको भएपनि यसको आकंडा बढ्दै गएको प्रहरी नायब महानिरीक्षक तथा केन्द्रीय प्रहरी प्रवक्ता अबि नारायण काफ्लेले बताए । बीमापोष्टसँग कुरा गर्दै उनले भने, ‘हामीले अनलाइन ठगी कम गर्ने अपराध अनुसन्धानलाई थप सशक्त बनाउँदै लगिरहेका छौं । यस सम्बन्धी प्रहरी साथीहरूलाई नयाँ नयाँ टेक्नोलोजीबारे जानकारी दिने र तालीम दिने काम हामीले गर्दै आइरहेका छौं । दिन प्रतिदिन अनुसन्धानको दायरा समेत द्रूत गतिमा अघि बढेको छ । प्रहरीबाट गर्ने सकिने कुनै कदममा पनि कमी हुन दिएका छैनौं तर पनि अनलाइन ठगीको आकार बढ्दो क्रममा छ ।’

ठगी नियन्त्रण गर्नका लागि ऐन कानुन समेत परिमार्जन गर्नका लागि नियामक निकाय समक्ष प्रहरी पुग्ने गरेको काफ्लेको भनाइ रहेको छ । ‘हामीले ठगी नियन्त्रणका लागि ऐन कानुन परिमार्जनका विषय लगेर समेत नियामक निकायमा पुग्ने गरेका छौं । सम्बन्धित निकाय बैंक तथा वित्तीय संस्था, राष्ट्र बैंक, सरकारी तथा गैर सरकारी संघसंस्था समक्ष समेत छलफल र समन्वय गरी रहेका छौं’ उनले भने ।

रातारात धनी बन्ने सोचले सर्वसाधारण सजिलै अनलाइन ठगीको शिकार हुने गरेको प्रवक्ता काफ्लेको दाबी छ । ‘नागरिकमा छिटो धनी बन्ने प्रवृति मौलाउँदै गएको छ । रातारात धनी बन्ने सोचले आफ्ना गोप्य विवरण सजिलै अरूको पहुँचमा पुर्याउने गरिरहेका छन् । कसैले केही प्रलोभन देखायो भने सजिलै आफ्ना पिन, पासवर्ड दिने गरेका छन् । जसले गर्दा ठगीको शिकार हुने गरेको पाइन्छ’ काफ्लेले भने, ‘प्रहरीले नागरिक स्तरमा जनचेतना प्रवाह गर्ने, सामुदायिक प्रहरी साझेदारी मार्फत गाउँगाउँमा गएर अनलाइन ठगीको माध्यमबारे जानकारी दिने काम गरिरहेका छौं ।’

राष्ट्र बैंकको कदम समेत फिक्का, बैंक तथा वित्तीय संस्थाको प्रचारले गरेन काम

अनलाइन ठगी नियन्त्रणमा सबै भन्दा ठूलो भूमिका नेपाल राष्ट्र बैंकको हुुनुपर्ने हो । तर राष्ट्र बैंक सर्वसाधारणको करोडौं रकम ठगी हुँदा समेत अभिभावकीय भूमिका निर्वाह गर्न सकेको छैन । यसबाट नागरिकको धन सुरक्षित राख्ने जिम्मेवारीबाट राष्ट्र बैंक पन्छिएको स्पष्ट देख्न सकिन्छ।

यता, राष्ट्र बैंकका प्रवक्ता गुरु प्रसाद पौडेल भने केन्द्रिय बैंकले ठगी रोक्न वित्तीय सांक्षरतादेखि बैंक तथा वित्तीय क्षेत्रलाई जनचेतना फैलाउन निर्देशन दिइरहेको बताउँछन् । उनले भने, ‘हामीले अनलाइन ठगी रोक्न वित्तीय सांक्षरतालाई प्राथमिकता दिदै आइरहेका छौं । बैक तथा वित्तीय संस्थालाई पनि गाउँ गाउँमा गएर जनचेतना फैलाउन निर्देशन समेत दिने गरेको छौं । साथै, सिआरएसको रकम समेत वित्तीय सांक्षरता खर्च गर्ने समेत जोड दिने काम भइरहेको छ ।

ठगी रोक्न प्रहरी, सिआईबिलगायतका सम्बन्धीत क्षेत्रसँग समन्वयकारी भुमिका खेलि रहेको पौडेलको भनाई छ । ‘हामीलाई डिजिटल संख्या बढाउनु मात्रै छैन । त्यसलाई ब्यवस्थित समेत गर्नु छ । आवश्यकता आधारमा मात्रै ग्राहकहरुलाई अनलाइन सुविधा उपलब्ध गराउने गरेका छौं । वित्तीय ठगीको बारे जानकारी लिएर त्यस्ता कार्यमा सग्लन्न ब्यक्तिलाई कारबाहीका लागि हामी सिआईबि र नेपाल प्रहरीसँग सहकार्य समेत गरी रहेका छौं’ उनले भने ।

सर्वसाधारण लोभका कारण अनलाइन ठगीको सिकार हुने गरेको पौडेलको दाबी छ । ‘सर्वसाधारण लोभका कारण ठगीको सिकार हुने गरेका छन् । कसलैले चिठ्ठा पर्यो भन्यो भने भर्दै नभरेको चिठ्ठा परेको कुरा पत्ताइदिने । बैंकबाट फोन गरेर कसैले पिन र ओटिपि माग्यो भने सजिलै दिने । बैंकले कहिले पनि फोन गरेर ग्राहकका गोप्य विवरण माग्दैन’ पौडेलले भने, ‘कोहि संगठित ठग पनि छन् । ग्राहकको डकुमेन्टको दुरुपयोग गरी प्रयोग गरेर ठगी गर्ने गरेका छन् । नक्कली सिम निकालेर समेत यस्ता कार्य हुने गरेको पाइन्छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*