टिओटीमा नेपालबाट सात जना अभिकर्ताले पूरा गरे लक्ष्य, अमेरिका र अष्ट्रेलिया जान पाउने

राजन कठायत
१८ पुष २०८२, शुक्रबार १२:३९

काठमाडौं । जीवन बीमा क्षेत्रमा आबद्ध विश्वभरका करोडौं बीमा अभिकर्ताहरुको एउटा सपना हुन्छ– एमडिआरटीको टिओटी बन्ने । सन् २०२५ भर्खरै सकिएको छ । एमडिआरटी २०२६ को लागि छनौट हुने समय पनि सकिएको छ । सन् २०२६ का लागि नेपालबाट सात जना एमडिआरटीको टिओटी लक्ष्य पुरा गर्न सफल भएका छन् ।

व्यवसायिक बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म हो एमडिआरटी । बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेवल (एमडिआरटी) नामक संस्थाले सन् २०२६ का टिओटी बिजेताहरुलाई आगामी अगस्ट २३–२६ सिड्नी, अष्ट्रलियामा बार्षिक बैठकमा निमन्त्रणा गर्नेछ । यसअघि नेपालमा धेरै बीमा अभिकर्ताहरुले यस्ता बैठकहरुमा भाग लिइसकेका छन् । टीओटी लक्ष्य हासिल गरेका अभिकर्ताहरुले अमेरिकामा हुने एनुअल मिटिङ र अस्ट्रेलियामा हुने ग्लोबल कन्फरेन्समा सहभागि हुन पाउने छन् ।

नेपालमा सञ्चालन रहेका १४ जीवन बीमा कम्पनीहरुबाट सन २०२६ को लागि जम्मा सात जनाले व्यवसाय लक्ष्य पुरा गरेका छन् । व्यवसाय लक्ष्य पुरा गरेर मात्रै हुँदैन । एमडिआरटीमा दर्ता भई कम्पनीले सिफारिस गरेपछि उनीहरुले बार्षिक बैठकमा भाग लिन पाउनेछन् ।

एमडिआरटीले टिओटीका लागि सन् २०२६ को लागि तोकिएको तीन करोड २३ लाख ८० हजार रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेर सात जना जीवन बीमा अभिकर्ताहरुले टीओटी लक्ष्य हासिल गर्न सफल भएका हुन् । जसमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सकी चिफ बिजनेश अफिसर नमिता न्यौपाने, नेशनल लाइफ इन्स्योरेन्सबाट जीवन कुमार खत्री, नेशनल लाइफ इन्स्योरेन्सकै सरिता तामाङ, एलआइसी नेपालकी अभिकर्ता प्रभा ज्ञवाली, एलआइसी नेपालकै राम कुमार अधिकारी र सोही कम्पनीका पूर्ण बहादुर खड्का र सिटिजन लाइफ इन्स्योरेन्सका माधव सिंह साउद सन् २०२६ को टीओटी बन्न सफल भएका छन् ।

बीमापोष्टले संकलन गरेको विवरण तथा कम्पनीहरुबाट प्राप्त विवरणको आधारमा तीन जना महिला र चार जना पुरुष बीमा अभिकर्ताहरु टिओटी लक्ष्य प्राप्त गर्न सफल भएका छन् । पछिल्लो पटक बीमा क्षेत्रमा महिलाहरुको उपस्थिति दरिलो बन्दै गएको तथ्य तीन जना महिलाले टिओटी बिजेता बनेको घटनाबाट समेत पुष्टी हुन आएको छ ।

दिन–रात अहोरत्र खटिएर समेत एमडीआरटी टिओटी लक्ष्य प्राप्त गरेकाहरु नेपाल जीवन बीमा व्यवसायमा संलग्न दुई लाख भन्दा बढि बीमा अभिकर्ताहरुको लागी आईडलका रुपमा रहेका छन् । जसमा महिला अभिकर्ताहरुको बढी संख्या भएका कारण पनि हजारौं महिला अभिकर्ताहरुलाई समेत आउँदो दिनमा बीमा व्यवसाय गर्न थप हौसला मिल्ने समेत विश्वास गरिएको छ ।

बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म टिओटीमा पुगेको आधारमा सबैभन्दा अगाडि एलआईसी नेपाल तीन जना, दोस्रो स्थानमा नेशलन लाइफ दुई जना र तेस्रोमा सानिमा रिलायन्स लाइफ र सिटिजन लाइफ इन्स्योरेन्सको एक जना रहेको छ । १४ वटा जीवन बीमा कम्पनीहरु मध्ये १० वटा जीवन बीमा कम्पनीका बीमा अभिकर्ताहरु टिओटी लक्ष्य पुरा गर्न सकेनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*