वर्षदिनमा स्काइवाक टावरको व्यापार २ करोडले घट्यो, धरहरा टाउको दुखाई बन्दा आईपीओको रणनीति

२० पुष २०८२, आईतवार १२:१२

काठमाडौँ । आकाशमा सिसामाथि हिडेको अनुभव दिने स्काइवाक टावर सञ्चालन गर्ने वन्डर्स नेपालको व्यापार निरन्तर घट्दो अवस्थामा रहेको छ । कम्पनीको पछिल्लो वित्तीय विवरण अनुसार वर्षदिनको अवधिमा यसको व्यापार करिब २ करोड रुपैयाँ अर्थात् १७.१४ प्रतिशतले घटेको हो ।

सन् २०२४ मा १० करोड ५० लाख रुपैयाँको व्यापार गरेको कम्पनीको अन–अडिटेड सन् २०२५ को कारोबार घटेर ८ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ । अडिटपछि यो नाफा अझै घट्ने देखिएको छ । केयर रेटिङ नेपालको तथ्याङ्कअनुसार, वन्डर्स नेपालको व्यापार निरन्तर खस्किरहेको छ । कमलादीस्थित २६ तले स्काइवाक टावरले आफ्नो कूल क्षमता अनुसारको मात्र १२ प्रतिशत सेवा बिक्री गर्न सकेको छ । दैनिक दुई हजार दर्शक समेट्ने क्षमता राख्ने टावरमा हाल दैनिक करिब २०० मात्र दर्शकले अवलोकन गरिरहेका छन् ।

वन्डर्स नेपाल मार्च २०१८ मा दर्ता भएको निजी सिमित कम्पनी हो । कम्पनीले सञ्चालन गर्दै आएको २५६ फिट उचाइको स्काइवाक टावर देशकै सबैभन्दा उचाइ भएको र दक्षिण एसियामा पहिलो पटक बनाइएको टावर हो । टावरले वार्षिक ७ लाख २० हजार दर्शकको आगमनको लक्ष्य राखेको भए पनि हालको अवस्थामा यो लक्ष्यभन्दा निकै तल देखिएको छ ।

टावरले सन् २०२३ को जुन महिनाको मध्यतिर पूर्ण रूपमा सञ्चालन सुरु गरेपछि केही लागत नियन्त्रणमा सुधार आएको छ । यसका कारण सञ्चालन नाफा सन् २०२४ मा ५१.४३ प्रतिशतबाट सन् २०२५ मा ६६.३४ प्रतिशतमा सुधार भए तापनि उच्च ब्याज खर्च र घट्दो सञ्चालन आम्दानीले कम्पनीको कुल नाफामा असर पारेको छ ।

सन् २०२५ मा कम्पनीले करिब २ करोड रुपैयाँको खुद घाटा बेहोरेको छ । सोही अवधिमा करिब ५ करोड ७० लाख रुपैयाँ बराबरको ब्याज खर्च हुँदा सञ्चालनबाट आएको नाफा प्रायः सबै ब्याज तिर्नमै खर्च भएको देखिन्छ ।

कम्पनीको ऋण भार मध्यम भए पनि कुल ऋण–पुँजी अनुपात सन् २०२५ को अन्त्यसम्म २.१५ गुणा पुगेको छ । नगद आम्दानी कमजोर भएपछि ब्याज तिर्ने क्षमता करिब १ गुणामा मात्र सीमित रहेको छ । यी तथ्यले वन्डर्स नेपालको वित्तीय अवस्था अझै दबाबमा रहेको छ ।

धरहरा भन्दै छ टाउको दुखाई

वोन्डर्स नेपालले सञ्चालनमा ल्याएको स्काइवाक टावरलाई सबैभन्दा कमजोर धरहराले बनाइरहेको छ । पछिल्लो समय अवलोकनकर्ताहरु सस्तो मूल्यका कारण धरहरा चढ्न घुइचो नै लाग्ने गरेको छ । धरहरामा चढ्नेहरुको भिड निरन्तर बढ्दै जाँदा स्काइवाकमा भने कमजोर उपस्थिति देखिन्छ ।

स्काइवाक टावरले प्रतिव्यक्ति एक हजार रुपैयाँ टिकट बिक्री गर्दै आएको छ भने धरहरामा टिकटको मूल्य मात्र २०० रुपैयाँ छ । यसै आर्थिक भिन्नताले गर्दा स्काइवाकको व्यापारमा असर परेको देखिन्छ । महङ्गो शुल्कका कारण एक पटक टावर चढेर अनुभव लिएका व्यक्तिहरु पुनः चढ्ने चासो देखाएका छैनन् ।

स्काइवाक टावरको आम्दानीमा अन्य स्रोतहरु जस्तै कफिसप, सैलुन र रेष्टुरेन्ट रहेका छन्, तर चढ्नेहरुको कम उपस्थितिले यी स्रोतहरुबाट प्राप्त आम्दानी पनि अपेक्षित स्तरमा छैन । पर्यटकहरुले अनुभव र लागतको तुलना गर्दा सस्तो विकल्प धरहरालाई प्राथमिकता दिएका कारण टावरमा निरन्तर उपस्थिति कमजोर भएको बताइएको छ ।

कम्पनीले बैैंकसँग छुट साझेदारी गरेर २५ प्रतिशत छुट अफर समेत ल्याइरहेको छ । तर, यो रणनीति समेत सफल हुन सकेको छैन ।

आइपीओमार्फत सर्वसाधारणमा आउन तयारी

धरहरा सञ्चालनमा आएपछि कम्पनीको आय अपेक्षितभन्दा कम भएको छ । व्यापारमा देखिएको संकुचन र आम्दानी घट्ने परिस्थितिका बीच कम्पनीले आइपीओमार्फत पैसा उठाउने रणनीतिमा अघि बढेको देखिन्छ ।

कम्पनीले गत वर्षै ७ औं वार्षिक साधारण सभामा पब्लिक लिमिटेडमा परिवर्तन भएर सर्वसाधारणमा शेयर निष्कासन गर्ने निर्णय पारित गरिसकेको छ । कम्पनीका अधिकारीका अनुसार आइपीओमार्फत उठ्ने रकमले हालको आर्थिक चुनौती पार गर्ने र भविष्यमा व्यापार विस्तारका लागि पूँजी जुटाउने उद्देश्य राखिएको छ ।

धरहरा पर्यटकहरूको आकर्षणको केन्द्र बनेको भए पनि विदेशी पर्यटकहरू भने स्काइवाक टावर तर्फ बढी आकर्षित भएको देखिन्छ । राजनीतिक अस्थिरता, आन्दोलन र सुरक्षा चुनौतीका कारण नेपालमा पर्यटकको संख्या अपेक्षाकृत कम हुँदा कम्पनीको व्यापारमा वृद्धिको गति पनि ढिला भएको छ ।

अब, कम्पनीले साधारण सभाबाट पारित आइपीओ प्रस्ताव लिएर नेपाल धितोपत्र बोर्डमा पेश गर्ने तयारी गरिरहेको छ । हालको व्यापारिक संकुचन र बजार अवस्था विचार गर्दा धितोपत्र बोर्डले कम्पनीको प्रस्तावमा कस्तो निर्णय गर्छ भन्ने कुरा वित्तीय र नियामक दृष्टिले महत्वपूर्ण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*