इतिहासकै गम्भीर मोडमा नेपाली कांग्रेस, गगन-विश्वले चिन्नै पर्ने पात्र

अदालत जान देउवा पक्षको पूर्व तयारी
२८ पुष २०८२, सोमबार १२:००

काठमाडौं । विधानको व्यवस्थालाई टेकेर बहुमत महाधिवेशन प्रतिनिधिहरु विशेष महाधिवेशनमा होमिएसँगै नेपाली कांग्रेस इतिहासकै गम्भीर मोडमा उभिएको छ । तीन महिना अगावै कांग्रेस सभापति शेरबहादुर देउवाको पद धरापमा परेको छ । तर, सहजै नेतृत्व हस्तान्तरणका लागि उनी तयार छैनन् । यता, बहुमत महाधिवेशन प्रतिनिधिहरुले हलबाटै नीति र नेतृत्व परिवर्तन गर्ने उद्घोष गरेका छन् । विशेष महाधिवेशनको उद्घाटन सत्रमा पार्टी सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित यसअघि १४औं महाधिवेशनका उपविजेता डा. शेखर कोइराला सहभागी भएनन् । बन्द सत्रमा समेत देउवा र उनी निकट नेताहरुले सहभागी नहुने घोषणा गरेका छन् ।

यो अवस्थाले कांग्रेस झन् चरम आन्तरिक द्वन्द्वमा फस्ने विश्लेषण हुन थालेको छ । चार वर्षअघि १४औं महाधिवेशनमा देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका डा. शेखर कोइरालाले संस्थापन पक्षलाई नै साथ दिँदा पनि ५६.१२ प्रतिशत प्रतिनिधि नीति र नेतृत्व परिवर्तनको मुद्दा बोकेर विशेष महाधिवेशनमा सहभागी भएका बताइँदै छ ।

१४औं महाधिवेशनमा देउवाले ६० प्रतिशत मत ल्याएर निर्वाचित हुँदा सभापतिका प्रतिस्पर्धी कोइरालाले ४० प्रतिशत मत प्राप्त गरेका थिए । कांग्रेसको कुल महाधिवेशन प्रतिनिधि संख्या ४ हजार ७ सय ४३ छ । जसमध्ये २ हजार ६ सय ६२ प्रतिनिधिले विशेष महाधिवेशनमा सहभागी भएर नाम दर्ता गराएका छन् । बन्द सत्र शुरु हुनुभन्दा पहिले पनि नाम दर्ता जारी राखिने बताइएको छ ।

आफुलाई निरन्तर साथ दिएका गोपालमान श्रेष्ठ समेत महाधिवेशनमा सहभागी भएसँगै देउवामाथि राजनीतिक र नैतिक दबाब बढेको छ । देउवाले तत्काल समाधान नदिए हलबाटै नयाँ नेतृत्व चयन गर्नुपर्ने मनस्थितिमा विशेष महाधिवेशनमा प्रतिनिधि छन् । तर, देउवा समूहका नेताहरूले विशेष महाधिवेशनबाट आउने परिणामलाई काउन्टर गर्ने रणनीति बनाउँदै पद नछाड्न दबाब बढाएका छन् ।

सहमति खोज्न महामन्त्री विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत पहल गरिरहेका भए पनि हाल पार्टी प्रवक्ता समेत रहेका डा. प्रकाशशरण महतले विशेष महाधिवेशन नभनेर भेलामा रुपान्तरण गरिए मात्रै सहमति हुन सक्ने संस्थापनको अडान रहेको बताएका छन् ।

अदालत जान देउवा पक्षको पूर्व तयारी
जेनजी आन्दोलनले दिएको म्यान्डेट अनुसार आगामी प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन पार्टीलाई रुपान्तरित तथा रिफ्रेस गरेर जानु पर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्तावलाई वेवास्ता गर्दा देउवालाई पदबाट हटाउन महाधिवेशन प्रतिनिधिहरूले विधानतः विशेष महाधिवेशनको उपयोग गर्दैै गर्दा संस्थापन पक्षले त्यसलाई अवैधानिक करार गर्न अदालत जाने पूर्व तयारी समेत गरिसकेको बुझिएको छ ।

देउवा निकट एक वरिष्ठ अधिवक्ताले बीमापोष्टसँग भने, ‘अहिले तमासा हेरिरहेका छौँ । हेरौं उनीहरुले भनेको हलले के निधो गर्छ । कुनै न कुनै रुपमा लडाइँमा इन्भल्व हुनै पर्छ । अहिलेलाई धेरै बोलिहालौँ ।’

यस्तै, डेमोक्र्याट अर्का एक वरिष्ठ अधिवक्ताले हलबाट पारित नयाँ नीति र नेतृत्वलाई अधिकार दिन हालको संस्थापन पक्ष सहमत भए जेनजी आन्दोलनमा अपदस्त जस्तो भएको पार्टी रिफ्रेस हुने र आगामी चुनावमा व्यक्तिगत लाभ हानी भन्दा भन्दा पनि सिंगो पार्टीको हेल्थ राम्रो हुने बताए । तर, उनले अहिले विशेष महाधिवेशनले गरेको निर्णयविरुद्ध अदालतमा रिट पर्न सक्नेतर्फ संकेत गरे । उनले भने, ‘अदालत जाने त यहाँ परम्परा नै बसिसक्यो । पार्टीको नीति र संरचना तथा नेतृत्वको कार्यशैलीलाई लिएर जेनजी आन्दोलनमा पार्टी नेतृत्वमाथि हातपात भएको घटना विर्सनु हुँदैन । राज्यका तीन वटै अंक व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका पूर्ण रुपमा फेल भएको र राजनीतिक पार्टीहरु समेत पूर्ण रुपमा फेल भएको प्रमाण हो जेनजी आन्दोलन । त्यसरी अपदस्त भएको अवस्थाको पार्टीलाई जस्ताको त्यस्तै आगामी निर्वाचनमा लैजानु हुँदैन भन्ने म्यान्डेट पनि जेनजी आन्दोलन कै हो । अन्य पार्टीहरु रुपान्तरित वा रिफ्रेस भएर आएको अवस्थामा कांग्रेस पनि रुपान्तरित भएरै चुनावमा सभागी हुन राम्रो हुन्छ भन्ने ध्येयले भएको विशेष महाधिवेशनलाई दुबै पक्षले अवसरमा परिणत गर्नु राम्रो हुन्छ ।’

महाधिवेशन प्रतिनिधिले बोलाएको विशेष महाधिवेशनलाई उपयोग गरिनु पर्नेमा म्याद सकिएका अवैधानिक महाधिवेशन प्रतिनिधिले गरेको अधिवेशनले पारित गरेको नीति तथा नेतृत्व मान्य नहुने र त्यसलाई कानूनी रुपमा चुनौती दिने तयारी गरेको बुझिएको ती अधिवक्ताले बताए ।
तर, केन्द्रीय समितिको अर्को निर्वाचन नभएसम्मका लागि केन्द्रीय समितिका पदाधिकारीहरू जस्तै महाधिवेशन प्रतिनिधिहरू प्नि कायम रहने आधार पनि जीवित रहेको उनको भनाइ छ । दुई ध्रुवमा बाँडिएको कांग्रेसलाई एकतावद्ध गर्न जेनजी आन्दोलनको म्यान्डेटलाई सम्झिनै पर्ने र नभए कांग्रेस सक्किने उनको तर्क छ ।

गगन-विश्वले चिन्नै पर्ने पात्र
विशेष परिस्थितिको फाइदा उठाउँदै पार्टीको नीति र नेतृत्व फेर्ने फोरममा उभिएका गगन थापा र विश्वप्रकाश शर्माले देउवाले जस्तो गल्ती भने गर्न नहुने बहस कांग्रेसभित्रै चल्न थालेको छ । कांग्रेसका एक चिन्तकले बीमापोष्टसँग भने, ‘रुपान्तरित पार्टीको मुद्दा मजबुद भए पनि गगन-विश्वले अवसरवादी पात्रलाई चिन्न नसके देउवा कै गति हुन्छ ।’

आर्थिक रुपमा कमजोर भएकै कारण हिजो रामचन्द्र पौडेलकहाँ फर्केर नहेरेकाहरू आर्थिक रुपमा बलियो शेरबहादुर देउवाकहाँ धुइरो लाग्थे, उनले भने, ‘मैले मेरै आँखाले देखेको हो । अहिले गगन-विश्वलाई काँध हाल्छौं भनिरहेका विनोद चौधरी, सुनिल शर्मालगायतहरु अवसर र आर्थिक लाभका लागि देउवा निवास धाउँथे । ती पात्रले गगन-विश्वलाई पनि असफल बनाउँछन् । एक प्रकारले भन्ने हो भने ती जुका र किर्ना हुन् ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*