लाभांश पारित गर्दै प्रभु महालक्ष्मी लाइफको साधारणसभा सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नवौं वार्षिक साधारणसभा आज काठमाडौंको गैर्हीधारास्थित सिल्भर ओक ब्याङ्क्वेट एण्ड इभेण्ट सेन्टरमा कम्पनीका अध्यक्ष सम्झना अर्यालको अध्यक्षतामा सम्पन्न भएको छ।
सभाले गत आर्थिक वर्ष (आव) को संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ४.४२१ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ८.४२१ प्रतिशत लाभांश शेयरधनीहरूलाई वितरणको प्रस्ताव पारित गरेको छ।
साथै गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण पनि यही सभाले गरेको छ।

त्यसैगरी सञ्चालक समिति सदस्यको नियुक्ति अनुमोदन गर्ने, संस्थागत सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गरेको छ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस २१ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। तसर्थ पुस २० गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै लाभांश प्राप्त गर्न सक्नेछन्।












