यस्तो छ कांग्रेस किचलोको मिलन विन्दु, गगन-विश्वको ७ बुँदे शर्त संस्थापनलाई आपत्ति नहुने

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर चुलिएको विवाद समाधानका लागि शीर्ष नेता र वार्ता टोली निरन्तर संवादमा जुटेका छन् । सहमतिबाटै विवाद समाधान गर्न भन्दै केन्द्रीय समिति बैठक नै सारेर नेताहरू निरन्तर संवादमा जुटेका हुन् ।
पार्टीभित्र देखिएको मतभेद र आन्तरिक असन्तुष्टी सम्बोधनको विन्दु नै संवाद भएको भन्दै दुई पक्षले वार्ताकार नै तोकेर मिलनविन्दु खोजिरहेका छन् । विशेष महाधिवेशन पक्षधरको तर्फबाट वार्ता समितिमा केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र मधु आचार्यसहित नेताहरू गुरुराज घिमिरे र देवराज चालिसे छन् । संस्थापन तथा डा. शेखर कोइराला पक्षको संयुक्त प्रतिनिधित्व गर्दै पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेता रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता डा. मिनेन्द्र रिजाल वार्तामा संलग्न छन् । यस्तै, शीर्ष नेताहरूले त्रिपक्षीय संवाद पनि जारी राखेको बुझिएको छ ।
विशेष महाधिवेशनको संवैधानिक वैधता, पार्टीको विधानमा गर्नुपर्ने परिमार्जन, भावी नेतृत्वको मोडालिटी र पार्टीको आगामी कार्यदिशाबारे देखिएका गम्भीर मतभेदलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा संवाद चलिरहे पनि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माकोतर्फबाट राखिएको ७ बुँदे प्रस्ताव मिलन विन्दु हुने बताइएको छ ।
उक्त ७ बुँदे शर्त स्वीकार्दा संस्थापन पक्षलाई कुनै पनि हानी नोक्सानी नहुने र पार्टी सभापति शेरबहादुर देउवाको सम्मान तथा शिर दुबै जोगिने एक कांग्रेस चिन्तकले बीमापोष्टलाई बताए । उनले भने, ‘गगन–विश्वले राखेको ७ बुँदे शर्तमा संस्थापन पक्षले आपत्ति मान्नु पर्ने कुनै पनि विषय छैनन् । खास गरी आगामी प्रतिनिधि सभा निर्वाचनको टिकट वितरण त्यो शर्तको गाँठी कुरा हो । त्यसमा कार्यवाहक सभापतिले हस्ताक्षर गर्नु पर्ने कुरा छ । त्यसमा सहमति गर्दा दुबै पक्षलाई घाटा हुँदैन । मिलन विन्दु नै त्यही हो । र, बन्द सत्रमा दुबै महामन्त्रीले राखेका प्रस्तावहरु सबै जायज नै छन् ।’
उनले गगन–विश्वहरू चुकेकै ठाउँ नै कांग्रेस कलहको मिलन विन्दु हो भनेका छन् । उनले त्यसलाई थप प्रष्ट्याउँदै भने, ‘जति बेला केन्द्रीय कमिटी बैठकबाट पार्टी सभापति देउवाले पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । उक्त निर्णयलाई केन्द्रीय समितिबाट अनुमोदन गरेर त्यसको अभिलेख निर्वाचन आयोगलाई त्यतिबेलै बुझाइदिएको भए यो समस्या आउने थिएन । त्यसो गर्ने जिम्मा महामन्त्री कै थियो । त्यसमा महामन्त्रीद्वय गगन–विश्व चुकेकै हुन् । विधानतः केन्द्रीय कार्यालय सञ्चालनको जिम्मेवारी महामन्त्रीलाई नै हुन्छ ।’
विगतमा पनि शेरबहादुर देउवाले टिकट वितरण र सत्ता गठबन्धनमा पोजिसनका आधारमा ६०-४० को प्रतिनिधित्व गराउँदै आएका कारण पनि हाल विशेष महाधिवेशन पक्षधरले राखेको टिकट वितरणको विषय र त्यसमा हस्ताक्षर कार्यवाहले गर्ने विषय संस्थापनलाई आपत्ति हुनुपर्ने कुरा नभएको ती चिन्तकको भनाइ छ ।
यस्तै, पार्टीको आमूल सुधारका सन्दर्भमा गगन–विश्व जत्तिकै शेरबहादुर पनि उत्तिकै संवेदनशील रहेको उनको धारणा छ । उनले भने, ‘पार्टीभित्र समावेशीता र अन्य थुप्रै सुधारका नीति हिजो एकीकृत हुँदा देउवाले नै लिएर आएका हुन् । र, विर्सन नहुने कुरा, हिजो गगन गिरिजाप्रसाद कोइराला खेमामा हुँदा पार्टीभित्र आमूल सुधारका नीति देउवाले नै बोकेर आएका हुन् । त्यति मात्र नभई संसदीय सहभागिता देउवाले बढी वर्ष खर्चिए पनि ०६२/०६३ को परिवर्तनपछि गगन थापा पनि निरन्तर टिकट पाउने र संसदीय प्रतिनिधित्वको अवसर पाएका नेता हुन् ।’
कांग्रेसको स्थापनाकालदेखि अहिलेसम्म नीति र नेतृत्व लिने सन्दर्भमा एक पक्षीय निधो भएको इतिहास नभएको बताउँदै उनले पार्टी सभापतिले कार्यवाहक तोकिसकेको अवस्थामा विशेष महाधिवेशन प्रयोजनका लागि भन्दै पहिल्यै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर गराउँदा पार्टीबाटै निस्कासन गर्ने कारबाही गरिएको भए के हुन्थ्यो ? भन्दै प्रश्न गरे । नेकपा एमालेमा पार्टी नेतृत्वको आलोचना मात्रै गरेका कारण नेताहरुलाई निस्कासन गरिएको घटना स्मरण गर्दै ती चिन्तकले भने, ‘कांग्रेसभित्र त्यस्तो निशेषधको राजनीति छैन । शेरबहादुर संयम भएकै कारण पनि गगन–विश्वले यो अवसर पाएका हुन् भन्ने कुरा विर्सनु हुँदैन ।’
यस्ता छन्, गगन-विश्वका ७ शर्त
१. विशेष महाधिवेशनको स्वामित्व केन्द्रीय समितिले लिनु पर्ने ।
२. पार्टी सुधारका प्रस्ताव स्वीकार गर्नु पर्ने ।
३. चुनावमा कुनै पार्टीसँग गठबन्धन गर्न नहुने ।
४. विधान अनुसार संसदीय बोर्ड गठन गर्नु पर्ने ।
५. टिकट वितरण न्यायोचित र सम्मानजनक हुनु पर्ने ।
६. टिकटमा कार्यवाहक सभापतिको हस्ताक्षर हुनु पर्ने ।
७. समापन सत्रमा सहमतिसहित शीर्ष नेताहरुको उपस्थिति सुनिश्चित गर्नु पर्ने ।












