पाथीभरा घोटालाको छानविन नगरे पूर्वी १४ जिल्लामा ठूला दललाई चुनावमा निषेध

५ माघ २०८२, सोमबार ११:२६

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनको माहोल बढ्दै जाँदा पूर्वका १४ जिल्लामा मुक्कुम्लुङ (पाथीभरा) बचाउको लहर चलेको छ । कोशी प्रदेशका १४ जिल्लामा मुक्कुम्लुङ अर्थात् पाथीभरामा भएको घोटालाबारे तत्काल छानविन अघि नबढाइए चुनावमा मुख्य राजनीतिक दलहरूलाई निषेध गर्ने तयारी पहिचान पक्षधरले गरेका छन् ।

किराँतको मुन्धुम सभ्यतासँग जोडिएको प्रसिद्ध तीर्थस्थल मुुक्कुम्लुङ अर्थात् पाथीभरा क्षेत्रमा स्थानीयको सहमतिबिना बलमिच्याइँपूर्वक भइरहेको केबुलकार निर्माणको विरोधमा पहिचानवादीहरू फेरि संगठित भएका हुन् । यसमा १४ वटै जिल्लाका जेनजी अभियन्ता र मुक्कुम्लुङ पाङ्सेःप् चुम्भो तथा मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समिति समेत जोडिएको छ । यस्तै, माघ १७ गते औपचारिक रुपमा घोषणा हुन लागेको स्वदेशवादी अभियानले समेत पाथीभरामा भएको घोटालाबारे सत्यतथ्य छानविनको माग गर्दै संघर्षमा ऐक्यवद्धता जनाएको छ ।

त्यति मात्र नभइ हालैमात्र सनातन सभ्यता बचाउ अभियानका एक सय जना अगुवाहरुले भारतको गोरखपुरस्थित गोरखनाथ मन्दिरमा माघ १ अर्थात् संक्रान्तिका दिन खिचडी चढाएका छन् । उनीहरुले समेत मुक्कुम्लुङ बचाउमा समर्थन जनाएका छन् । गोरखनाथ मन्दिरमा खिचडी चढाउने परम्परा नेपाल-भारत मात्र नभई काश्मिरदेखि अफगानिस्तानको कान्दारसम्म जोडिएको बताइन्छ ।

मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले गएको पुस १८ गते यता ताप्लेजुङसहित पूर्वका विभिन्न जिल्लामा भेला तथा नागरिक सचेतना कार्यक्रम गरेको छ भने जेनजी अभियन्ताहरुले पाथीभरा क्षेत्रमा अवैधानिक रुपमा भइरहेको केबुलकार निर्माणको निर्णय फिर्ता लिई तत्काल छानविन गर्न भन्दै आठ सुत्रीय माग राखेर संघर्षको चेतावनी दिएका छन् ।

मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले प्रतिनिधि सभा निर्वाचनको मनोनयन दर्ताका दिन पनि मुक्कुम्लुङ सभ्यता बचाउका लागि प्रदर्शन गर्ने तयारी गरेको छ । यस्तै, समितिले माघ १२ गते कोशीका सबै जिल्लामा कोणसभा र माघ १४ गते राजमार्ग केन्द्रित विरोध कार्यक्रम गर्ने घोषणा गरिसकेको छ । माघ १६ गते शहीद दिवसका दिन केबुलकार निर्माण भइरहेको फुङलिङमा जनप्रदर्शन तथा कोणसभा गर्ने कार्यक्रम तय भइसकेको छ ।

माघ १७ गते काठमाडौंमा सूर्य माखिम संयोजक रहेको स्वदेशवादी अभियानको औपचारिक घोषणा हुँदा अन्तरदलीय संघर्ष समितिले मुक्कुम्लुङ बचाउ आन्दोलनका घाइतेलाई सम्मान गर्ने कार्यक्रम राखेको छ । समितिले माघ १८ गते हाक्पारे देखिमाथि मुक्कुम्लुङ माङधान स्थलसम्म धागो टाँग्ने कार्यक्रम राखेको छ । माघ १९ गते पाथीभरा मन्दिर क्षेत्रमा विरोध प्रदर्शन तथा कोणसभा गर्ने कार्यक्रम राखेको संघर्ष समितिले माघ २० देखि माघ अन्त्यसम्म जिल्ला, गाउँपालिका र नगरपालिका एवं वडामा गठन भएका मुक्कुम्लुङ संरक्षण तथा सहयोग समितिहरुको सुदृढीकरण, विस्तार र शसक्तिकरणका साथै मुक्कुम्लुङ क्षेत्रको संरक्षण, केबुलकार जारेजी, पाथीभरा क्षेत्र विकास समिति गठन आदेश खारेजी, सशस्त्र प्रहरी मुक्कुम्लुङ क्षेत्रबाट फिर्ता, मुक्कुम्लुङ संरक्षणकारीहरुलाई लगाइएका मुद्दा खारेजी र राज्य तथा केबुलकार पक्षबाट भएका गम्भीर प्रकृतिका मानवअधिकार उल्लंघन र हननका घटना गर्ने दोषीहरुमाथि कारबाही गर्नु पर्ने लगायतका मागलाई चिर्वाचनको एजेण्डा बनाएर गाउँबस्तीमा लैजाने अभियान समेत अघि सारेको छ ।

अभियान्ताहरूले किराँतहरूको मुक्कुम्लुङ र हिन्दुहरुको आस्थाको केन्द्रमाथि गरिएको प्रहार, शेयर दिलाउने नाममा कौडीको भाउमा स्थानीयको जग्गा हत्याएर करोडौंमा बेचिएको, राष्ट्रिय फूल लालीगुराँसको जंगल विनास गरेको र आन्दोलनका घाइतेहरूमाथि चरम दुव्र्यवहार गरेकोबारे तत्काल छानविनको माग गरेका छन् । साथै उनीहरूले पहिचानवादीमाथि लगाइएका झुठा मुद्दा फिर्ता लिन भनेका छन् । मुख्यतः उनीहरुले आफुहरुको सभ्यता मास्नेगरी बनाउन लागिएको भौतिक संरचना केबुलकार खारेजीलाई पहिलो माग बनाएका छन् । साथै उनीहरुले पाथीभरा क्षेत्र विकास समिति गठन आदेश खारेजीको माग समेत अघि सारेका छन् ।

सम्बन्धित समाचार:

पाथीभरा घोटालाको छानविन नभए पूर्वका १४ जिल्लामा चुनाव गर्न कठिन

पाथीभरा घोटालाविरुद्ध १४ जिल्लाका जेनजी जुरुक्कै, केबुलकार आयोजना रद्द गरेर छानविनको माग

पाथीभरामा केबुलकार निर्माणविरुद्ध फेरि आन्दोलन सुरु, शहीद दिवसका दिन फुङलिङमा जनप्रदर्शन

स्थानीयमाथि ‘स्क्याम’ गरेर बनिरहेको पाथीभरा केबुलकारको भविष्य संकटमा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*