नेशनल लाइफको एमडीआरटी सम्मान तथा तालीम कार्यक्रम सम्पन्न

५ माघ २०८२, सोमबार ११:४१

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले धुलिखेलस्थित दुषित थानी हिमालयन रिसोर्टमा कम्पनीकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको प्रमुख आतिथ्य तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को सभापतित्वमा एमडीआरटी सम्मान तथा तालीम कार्यक्रम सम्पन्न गरेको छ।

अभिकर्ताहरूको अन्तराष्ट्रिय फोरम एमडीआरटीले एमडीआरटी २०२६ का लागि तोकेको बीमाशुल्क संकलन गरी नेपालभरी बाट टिओटीमा २ जना सिओटीमा ४ जना र एमडीआरटीमा ७७ जना गरी छनौट भएका ८३ जना अभिकर्ताहरूलाई भव्य समारोहका बीच सम्मान गरेको हो।

कम्पनीकी अध्यक्षद्वारा पानसमा द्विप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सो कार्यक्रममा सहभागी भएका अभिकर्ताहरूलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक काजिम रजाद्वारा जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरूको व्यवसायिक दक्षता अभिवृद्धि गरी निरन्तर एमडीआरटीको लक्ष्य पूरा गराउने उद्देश्यले विभिन्न उदाहरण प्रस्तुत गर्दै तालीम दिइएको थियो।

समारोहमा सीईओले कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै केही नयाँ अभ्यासहरू शुरु गरेको र यसबाट अभिकर्ताहरू उत्साहित भएको बताए। उनले एमडीआरटी २०२६ मा तोकिएको बीमाशुल्क संकलन गरी एमडीआरटी सिओटी र टिओटीको गरिमामय लक्ष्य हासिल गर्न सफल सबै अभिकर्ताहरूलाई विशेष सम्मान गरेका थिए।

साथै सीईओले कम्पनीले एमडीआरटी अभिकर्ता उत्पादनलाई थप बल पुग्ने गरी ल्याएको मासिक योजना ‘चेज योर एमडिआरटी’मा सफल हुने अभिकर्तालाई प्रोत्साहन प्रदान गरेका थिए। त्यसैगरी सबैभन्दा बढी एमडीआरटी अभिकर्ता उत्पादन गर्न सफल तिनकुने शाखालाई पनि सम्मान गरेका थिए।

विभिन्न मनोरन्जानात्मक प्रस्तुति, उपलब्धिमूलक उत्प्रेरक तालीम र उच्चस्तरको सम्मान कार्यक्रम समावेश गरिएको भव्य समारोहमा सम्मानित भई प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूहरूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको सम्मानित बिजनेश लिडरहरूले बताएका थिए।

कम्पनीको उप–प्रमुख कार्यकारी अधिकृत स्मृती राज कँडेलद्वारा सहभागीहरूलाई स्वागत गरिएको सो कार्यक्रममा कम्पनीका नायब महाप्रवन्धक प्रज्वल सायमीले धन्यवाद ज्ञापन गरेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*