मुक्कुम्लुङ ‘पाथीभरा’मा गिद्देदृष्टी लगाउँदा गुम्यो टिकट, योगेश भट्टराईको संसदीय यात्रामा ‘पूर्णविराम’

काठमाडौं । किराँतहरुको पहिचान र अस्तित्वसँग जोडिएको मुक्कुम्लुङ अर्थात् पाथीभरामा गिद्देदृष्टि लगाएपछि एमाले उपमहासचिव योगेश भट्टराईको संसदीय यात्रामा झण्डै पूर्णविराम लागेको छ । उनकै समकालीन नेता अर्थात् नेपाली कांग्रेसका सभापति गगन थापाले अघि सारेको नीति एमालेले अनुसरण गरेको हो भने अब भट्टराईले संसदीय चुनावमा टिकट पाउने छैनन् । एउटा व्यक्ति दुई पल्ट मात्रै सांसद र प्रधानमन्त्री बन्न पाउने नीति कांग्रेसले पारित गरेको छ, जसलाई जेनजी आन्दोलनको म्यान्डेट भनेर सर्वमान्य लालमोहर लागि सकेको छ ।
मुक्कुम्लुङ अर्थात् पाथीभरामा मुक्कुम्लुङ पक्षधर र स्थानीयको असहमति हुँदा हुँदै पद तथा राज्य शक्तिको दुरुपयोग गर्दै एउटा व्यवसायिक कम्पनीलाई केबुलकार निर्माणको अनुमति दिनेदेखि वन वातावरण प्रभाव मूल्याङ्कनमा जालझेल गर्ने सम्मका कार्यहरुमा नेता भट्टराईको संलग्नता रहेको आरोप छ ।
पाथीभरा घोटालामा प्रत्यक्ष संलग्न रहेको भन्दै निकै विवादित भएका भट्टराई पार्टीको आन्तरिक चुनाव जित्न सफल भए पनि संसदीय निर्वाचनमा उनलाई ताप्लेजुङका मतदाताले बहिस्कार गर्ने जोखिम देखेर पार्टीले टिकट खोसेको बताइँदैछ । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले टिकट पाउने सूचीमा रहेका भट्टराईको नाम निकै दिन पेण्डिङमा राखेर अन्तिममा भातृ संस्था राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेलाई टिकट दिएका दिए । थेबेले ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।
विद्या भण्डारी समूहबाट पार्टीको आन्तरिक चुनाव जितेका भट्टराई र गोकर्ण विष्ट मध्ये गोकर्णको संसदीय यात्राले फेरि पनि निरन्तरता पाएको छ । उनले आफ्नो गृह जिल्लाबाट मनोनयन दर्ता गराउँदा भट्टराईको संसदीय यात्रामा ‘विराम’ लागेको छ । २०६४ र २०७० को संविधानसभा चुनावमा काठमाडौं–६ मा लगातार पराजय भोगेका भट्टराई सांसद बन्न पाथीभराकै शरण पर्नु परेको थियो ।
२०७४ र २०७९ को चुनाव जितेका भट्टराईले पाथीभराकै कृपाले एमालेको केन्द्रीय सचिव तथा प्रचार विभाग प्रमुखको जिम्मेवारी पाएका थिए भने राज्य सत्तामा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनेका थिए । २०७४ मा सांसद भएपछि मन्त्री भएका उनले २०७५ मा पाथीभरा देवी दर्शन केबुलकार प्राइभेट लिमिटेडलाई केबुलका निर्माणको अनुमति दिन लगाएका थिए । त्यसअघि तत्कालीन पयर्टनमन्त्री रविन्द्र अधिकारीलाई पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले सर्प्राइज दिन भनी हेलिकोप्टरमा पाथीभरा लगेकामा पाथीभरा देवीको दर्शन लगत्तै हेलिकोप्टर दुर्घटनामा प्राण त्याग्नु परेको थियो ।
त्यसबेला हेलिकोप्टरमा सवार सबैको मृत्यु भएको थियो । त्यसपछि पाथीभरामा केबुलकार निर्माणका लागि अग्रसर भएका अर्का एक व्यवसायीको पनि निधन भएको थियो । यी घटनाक्रम पछि तत्कालीन समयमा व्यवसायी शेर्पाले केबुलकार निर्माणका लागि लिएको अनुमतिको मिति गुज्रिएको थियो । पछि भट्टराई संस्कृति पर्यटनमन्त्री भएर आएपछि ग्लोबल आईएमई ग्रुप अन्तर्गतको पाथीभरा देवी दर्शन केबुलकार प्राइभेट लिमिटेडले स्थानीय सरकार र संघीय सरकारबाट केबुलकार आयोजनाको अनुमति लिएको हो ।
अघिल्लो पल्ट केबुलकारको अनुमति लिँदा कौडीको भाउमा किनेको जग्गा पछिल्लो पल्टको अनुमतिपछि कोरोडौं मूल्यमा कारोबार भएको छ ।स्थानीयलाई शेयर दिने बहानामा सस्तोमा कब्जा गरिएको जमिन सरकारी दररेट भन्दा सयौं गुणामाथि कृत्रिम मूल्य कायम गरेर किनेबेच भएका लिखतहरु सार्वजनिक भइसकेका छन् । यो घोटालाबारे मुक्कुम्लुङ बचाउ पक्षधर, स्थानीयहरु, पहिचान पक्षधर संघ संगठनहरु, दल आवद्ध विभिन्न आदिवासी संघ तथा संगठन र जेनजी अभियन्ताहरुले छानविनको माग गरेका छन् भने केबुलकार आयोजना निर्माणको निर्णय खारेजीको माग गर्दै आएका छन् । उनीहरुले मुक्कुम्लुङको पहिचान मास्ने गरी अघि बढाइएको केबुलकार आयोजनासँग जोडिएका जो कोही उम्मेदवार बनेर आए लखेट्ने पूर्व चेतावनी दिएका कारण पनि एमाले उपमहासचिव भट्टराईको टिकट गुमेको हो ।
मुक्कुमलुङ बचाउका लागि हाल संघर्षरत संघर्ष समितिले पहिचानको मुद्दा नल्याए भोट नै नदिने चेतावनी दिइसकेका छन् । यसअघिका जनप्रतिनिधि अर्थात् सांसद भट्टराईले गरेको गल्तीका कारण हाल एमालेबाट उम्मेदवारी दिने क्षितिज थेबेसँग ताप्लेजुङ बासीले मुक्कुम्लुङ बचाउ र केबुलकार निर्माणका दौरान भएको घोटाला छानविन अघि बढाउने स्पष्ट प्रतिवद्धता खोजेका छन् ।
१९ बुँदे बन्यो घातक
सांसद पदमै हुँदा योगेश भट्टराईले ताप्लेजुङमा निर्माणाधीन पाथीभरा देवी दर्शन केबलकार निर्माणका सवालमा उत्पन्न विवादबारे १९ बुँदे धारणा सार्वजनिक गरेका थिए ।
पत्रकार सम्मेलन नै गरेर उनले संघीय, प्रदेश र स्थानीय तहबाट कानूनी प्रक्रिया पुरा गरेर ताप्लेजुङमा पाथीभरामा केबलकार निर्माणको काम सुरु भएको भनेका थिए । जुन अहिले उनकै लागि संसदीय यात्राको बाधक बन्यो ।
उनले ताप्लेजुङ जिल्लाका सबै राजनीतिक दल र तीनै तहका जनप्रतिनिधिहरू केबलकार बन्नु पर्छ भन्ने पक्षमा रहेको भनी जिकिर गरेका थिए । तर, अमुख दलकै ११ वटा संगठनहरु अहिले पनि संघर्ष मै छन् । उनीहरुले माघ महिनाभरी आफ्ना संघर्षका कार्यक्रम जारी राख्ने र पाथीभरामा भएको घोटालाबारे तत्काल छानविन नगरे आगामी प्रतिनिधि सभा चुनाव नै बहिस्कार गर्नेसम्मको चेतावनी दिएका छन् ।
भट्टराईले १९ बुँदेमा पाथीभरा खस, आर्य लिम्बु राई (किराँत) गुरुङ, तामाङ शेर्पा, मगर, नेवार, लगायतका सबै जात र विशेष गरी हिन्दु बौद्ध, र किराँत धर्मालम्बीहरुले समान रूपले आस्था र विश्वास दर्साउने साझा स्थल भएको भनी व्याख्या गरेका थिए । तर, किराँतहरुले मुक्कुम्लुङको नेपालीकरण ‘पाथीभरा’ शब्द बोलिचालीमा प्रयोग गर्दा आपत्ति नहुने भए पनि दस्तावेजहरुमा मुक्कुम्लुङनै लेखिनु पर्ने र पाथीभरा क्षेत्र विकास समिति खारेज हुनुपर्ने माग गरेका छन् । पाथीभरामा केबुलकार निर्माण हुँदा निकै धेरै व्यवसायिक फाइदा हुने जिकिर गरेका भट्टराईले राष्ट्रिय फूल लालीगुँरासको जंगल कटान भएको भने स्वीकारेका छन् । उनले १९ बुँदेमा बाहिर प्रचार गरिएजस्तो २५ हजार बढी रुख काटिने नभए पनि ३ हजार रुखसम्म काटिने तथ्याङ्क प्रस्तुत गरेका थिए ।
यस्तै, निर्माण कम्पनीले प्रस्तुत गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वन मन्त्रालयले स्वीकृत गरेको वातावरण प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदनका आधारमा पवित्र कान्छी स्थानभन्दा केबुलकार करिब २ सय मिटरको दुरीमा रहने र पाथीभराको मूल मन्दिरभन्दा करिब ८ सय मिटर बाहिर केबुलकार स्टेशन निर्माण हुने जिकिर गरिए पनि पाथीभराको टुप्पोमा होटल वा रेष्टुरेन्ट बन्न नदिइने कुरामा स्पष्ट व्यवस्था नगरिएको देखिन्छ । त्यसमा बन्ने छैन र बन्न दिइने छैन भन्ने आश्वासन मात्र दिइएको छ ।
सम्बन्धित समाचार:












