राष्ट्रिय जीवन बीमा कम्पनीले अभिकर्ता तालीम सञ्चालन गर्ने

काठमाडौं । सरकारी स्वामित्वको जीवन बीमा कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ताको आधारभूत तालीम सञ्चालन गर्ने भएको छ ।
कम्पनीको मोरङ जिल्लास्थित विराटनगर शाखा कार्यालयले यही माघ २९ गतेदेखि फागुन २ गतेसम्म जीवन बीमा अभिकर्ताको आधारभूत तालीम सञ्चालन गर्ने भएको हो । जीवन बीमा क्षेत्रमा आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरूलाई लक्षित गरी तालीम सञ्चालन गर्न लागिएको कम्पनीले जानकारी दिएको छ ।
अभिकर्ता भई कार्य गर्नका लागि अनिवार्य रूपमा अभिकर्ता परीक्षा उत्तीर्ण गरेको हुनु पर्ने भएकाले कम्पनीहरूले समयसमयमा यस्ता तालीमहरू सञ्चालन गर्दै आइरहेका छन् भने नेपाल बीमा प्राधिकरणले अनलाइन मार्फत् अभिकर्ताको परीक्षा सञ्चालन गरी उत्तीर्ण भएकाहरूलाई लाइसेन्स वितरण गर्दै आइरहेको छ ।
कम्पनीले सञ्चालन गर्न लागेको यस तीन दिने तालीममा भाग लिन इच्छुक नेपाली नागरिकले नागरिकताको प्रतिलिपि, हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो, प्यान कार्डको प्रतिलिपि, प्लस टू वा सोभन्दा माथिको शैक्षिक योग्यताको प्रतिलिपि सहित ५०० रुपैयाँ शुल्क तिरी सहभागी हुन सक्नेछन् । यसका लागि नजिकैको शाखा कार्यालय वा बजार व्यवस्थापन विभागमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।












