सुर्ती खैनीमा कर छलीका अभियुक्तको गाडीमा बालेन सरर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र साह (बालेन) सुर्ती खैनीमा कर छलीका अभियुक्तको गाडीमा देश दौडाहा गरिरहेको रहस्योद्घाटन भएको छ ।
बरिष्ठ नेता बालेनलाई देश दौडाहा तथा चुनावी प्रचारका लागि करोडौं पर्ने गाडी दिने व्यक्ति भने कर छली तथा झुठा (नक्कली भ्याट)को कारोबारमा संलग्न भएका व्यक्ति भएको पाइएको हो ।
भावी मुलुकको प्रधानमन्त्रीका रुपमाअघि सार्दै रास्वपाले झापा क्षेत्र नम्बर-५मा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार बनाएका बालेन चढेको गाडीको नेपाली मूल्य ८ करोड रुपैयाँ पर्ने चर्चा छ । बागमती प्रदेश ०१ ०३३ च ४३४३ नम्बरको कालो डिफेन्डर जगुरा ल्याण्डरोभरको उत्पादन हो ।
बालेनलाई उक्त डिफेन्डर दिने बुटवल उपमहानगरपालिका-१२ स्थित श्रीराम टोेबागो उद्योग प्राइभेट लिमिटेडका सञ्चालक कमलकिशोर मालपानी हुन् । बालेन चढिरहेको उक्त गाडी त्रिमूर्ति इन्डस्ट्रिज प्राइभेट लिमिटेडका नाममा दर्ता भएको खुल्न आएको छ भने जुन गाडीका मालिक टोबागो व्यवसायी मालपानी नै हुन् । मालपानीको तयारी चाउचाउ करेन्टमा पनि लगानी छ । मालपानीको बुटवल र रुपन्देही क्षेत्रमा पाँचतारे होटल ‘सफ्रोन सीके’तथा अन्य उद्यमहरुमा समेत लगानी रहेको पाइएको छ ।
कर छली तथा नक्कली भ्याटको कारोबार गरेको भन्दै राजस्व अनुसन्धान विभागले श्रीराम टोबागोका सञ्चालक मालपानीसहित सात जनाविरुद्ध २०७६ पुसमा १० करोड ७३ लाख विगो दाबी गरेर रुपन्देही जिल्ला अदालतमा मुद्दा नै दायर गरेको थियो । राजस्व अनुसन्धान कार्यालय बुटवलले समेत त्यसबेला छुट्टै अनुसन्धान गरेको थियो । मालपानीकोश्रीराम टोबागोले कम तौलको गुट्खा उत्पादन गरेर उपभोक्ता ठगेको समेत आरोप छ ।
तर, त्यो मुद्दाको किनारा लागे नलागेको बारे भने राजस्व अनुसन्धान कार्यालय बुटबल बेखबर छ भने केन्द्रीय राजस्व अनुसन्धान विभाग पुल्चोकले समेत जवाफ दिएको छैन । यद्यपि, यो विषय चर्चामा आएसँगै राजस्व विभागका महानिर्देशक तीर्थराज चिलुवाल निरन्तर छलफलमा जुटेका छन् । राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) नियमावली २०७० को दफा १२ ले कर छली गर्ने सञ्चालकलाई विभागले नै पक्राउ पूर्जी जारी गर्न सक्ने व्यवस्था गरेको छ ।
मालपानीसँग कसरी जोडिए बालेन ?
२०८० मंसिर २७ गते बुधबारदेखि लागू हुने गरी काठमाडौं महानगरपालिकाले सुर्तीजन्य पदार्थ बेचबिखनमा रोक लगाउने निर्णय गरेपछि महानगर पिता बालेनले वाहवाही बटुले ।
काठमाडौं उपत्यकाको माहोल तरंगित भयो । तर, यीनै कमलकिशोर मालपानी सञ्चालक रहेको श्रीराम टोबागो प्रालि काठमाडौं महानगरको निर्णयविरुद्ध उच्च अदालत पाटन गयो । महानगरको निर्णय लागू हुने मिति भन्दा अगावै उच्च अदालतबाट अन्तरिम आदेश लिएर आएपछि बालेनले अर्को कुनै कदम नचालून् भन्दै हालका गृहमन्त्री तथा तत्कालीन काठमाडौं महानगरका कानूनी सल्लाहकार ओम प्रकाश अर्यालमार्फत मालपानीले बालेनसँग भेट गरेका बुझिएको छ ।

श्रीराम टोबागोले हालेको रिटमा बहस हुँदा महानगरका तर्फबाट हालका गृहमन्त्री अर्यालले समेत वकालत गरेका थिए । श्रीराम टोबागो सुर्तीजन्य उद्योगहरु सबैको अगुवाई गर्दै अदालत गएको थियो । उच्च अदालत पाटनका तत्कालीन न्यायाधीशद्वय जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले महानगरका नाममा अन्तरिम आदेश दिएपछि बालेन टोबागो व्यवसायी मालपानीसँग हात मिलाउन पुगेका हुन् । त्यतिमात्र नभई बालेनले महानगरलाई करोडौं राजस्व नतिर्ने दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रबन्धक निर्देशक प्रकाश दुगडसँग पनि हात मिलाएको चर्चा चलेको थियो ।












