प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले छ महीनामा कमायो ६२ लाख रुपैयाँ नाफा

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को दोश्रो त्रैमासिक वित्तीय विवरण (साउनदेखि पुस मसान्तसम्म) सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको छ महीनामा ६२ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको हो।
कम्पनीले गत आव २०८१/८२ को पुस मसान्तसम्म ७ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। गत आवको तुलनामा चालू आवको सोही अवधिमा खुद नाफा ७४८ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ। समीक्षा अवधिमा कम्पनीको निर्जीवन बीमाकोष २० करोड ५५ लाख रुपैयाँबाट बढेर २९ करोड ७ लाख रुपैयाँ पुगेको छ।
त्यसैगरी कम्पनीको खुद बीमाशुल्क आर्जन १ करोड ३१ लाख रुपैयाँबाट २११.७६ प्रतिशतले बढेर ४ करोड ९ लाख रुपैयाँ पुगेको छ। यता कुल आम्दानी ५ करोड १३ लाख रुपैयाँबाट बढेर ८ करोड १६ लाख रुपैयाँ पुग्दा कुल खर्च ५ करोड ३ लाख रुपैयाँबाट बढेर ७ करोड २७ लाख रुपैयाँ पुगेको छ।
चुक्ता पूँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको यस कम्पनीको स्पेशल रिजर्भमा ५४ लाख ३२ हजार रुपैयाँ, महाविपत्ति कोषमा ५ लाख रुपैयाँ, जगेडा कोषमा करीब ४ लाख रुपैयाँ र अन्य इक्विटीमा ४७ लाख रुपैयाँ रहेको छ।












