रिलायबल नेपाल लाइफद्वारा नगद लाभांश वितरण

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत पुस २९ गते सम्पन्न नवौं वार्षिक साधारण सभाले पारित गरेको नगद लाभांश सम्बन्धित शेयरधनीलाई वितरण गरेको छ।
सो साधारण सभाले हाल कायम चुक्ता पूँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँको १२ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गरेको थियो। लाभांश वितरण प्रयोजनार्थ पुस २१ गते बूक क्लोज गरिएकाले पुस २० गतेसम्म नेप्सेमा कायम शेयरधनीलाई नगद लाभांश वितरण गरेको हो।
सम्बन्धित शेयरको डिम्याट खातामा उल्लिखित बैंक खातामा पुस २९ गतेदेखि नै कनेक्ट आईपीएस मार्फत नगद लाभांश वितरण गरिएको कम्पनीले जानकारी दिएको छ। गत पुस २० गतेसम्म शेयर धितो राखेर कर्जा लिएका शेयरधनीको हकमा कर्जा लिएको संस्थाबाट एनओसी वा लोन सेटलमेन्ट लेटर प्राप्त भएपछि मात्रै बैंक खातामा पठाइने जनाएको छ।
साथै हालसम्म पनि डिम्याट खाता नखोलेका वा डिम्याट खातामा बैंक खाता अद्यावधिक नगरेका शेयरधनीलाई यथाशीघ्र गर्न पनि आग्रह गरेको छ। कम्पनीले विगतका वर्षहरूमा वितरण गरेको नगद लाभांश हालसम्म पनि केही शेयरधनीले नलिएको पनि जानकारी दिएको छ। कम्पनीले आव २०७९/८० मा १६ प्रतिशत बोनस शेयर, २०८०/८१ मा १२ प्रतिशत बोनस शेयर र २०८१/८२ मा १२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।












