हेटौडाका सिमेन्ट उद्योग स्थानान्तरणको एजेण्डा लिएर चुनावी मैदानमा आउन दलहरुलाई स्थानीयको माग

काठमाडौं । बागमति प्रदेशको राजधानी हेटौडामा करिब सात किलोमिटरको दुरीमा तीन वटा सिमेन्ट उद्योग रहेका छन् । पञ्चायतकालदेखि स्थापित हेटौडा सिमेन्ट उद्योग, शिवम् सिमेन्ट र रिद्धिसिद्धि सिमेन्ट ।
एउटै शहरमा तीन वटा सिमेन्ट उद्योगका कारण हेटौडामा बाक्लो धुलोका कणहरुले नसर्ने दीर्घरोगहरुको प्रकोप फैलिने क्रम ह्वात्तै बढेको छ । तीन वटा सिमेन्ट उद्योगले गरेको प्रदुषणले उकुस मुकुस बनेका स्थानीयबासीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा तीन वटा सिमेन्ट उद्योग अन्यत्र स्थानान्तरण गरेर सफा हेटौडाको एजेण्डा लिएर आउन आग्रह गरिरहेका छन् ।

सबैभन्दा धेरै प्रदुषण दुई निजि सिमेन्ट उद्योगले गर्दै आएका छन् । शिवम् सिमेन्टले हेटौडा चौघडादेखि पूर्व चुच्चेखोला, हटिया, हर्नामाडीसम्म धुलोको कणहरु फैलाएर प्रदुषण गरिरहेको छ । त्यस्तै रिद्धिसिद्धि सिमेन्टले हेटौडा बजार पुरै धुलोमा डुबाउँदै आएको छ । बाहिरबाट हेर्दा खासै नदेखिने धुलोको कण विहानको समयमा मर्निङ वाक गर्न समेत जोखिम थपेको छ । सडक भन्दा परका सबैजसोघरहरुमा पनि विहान उठ्दा एकदमै मसिनो धुलो फैलिएर समस्या आउने गरेको हेटौडा कमानेका मतदाताहरुको भनाई छ । अझ शिवम् सिमेन्टले फैलाएको धुलोका कारण चुच्चेखेला, दियावादी, हटिया क्षेत्रका साग, लसुन र अन्य तरकारीहरु खानै नहुने गरी धुलोले छोप्ने समस्या छ ।
यही आउँदो निर्वाचनमा हेटौडाको प्रदुषण घटाउन तीन वटा सिमेन्ट उद्योगहरु अन्यत्र स्थानान्तरण गर्ने एजेण्डा बनाउने बिषयमा मकवानपुर क्षेत्र नं १ का उम्मेदवारहरु त्यति परिपक्व देखिएका छैनन् । जनताको स्वास्थ्य भन्दा पनि कम्पनीबाट आउने मासिक आम्दानी, चुनाव खर्चपानी कारण कांग्रेस, एमाले, माओवादी र राप्रपाका उम्मेदवारहरु यस बिषयमा मौन रहँदै आएका छन् । नयाँ राजनीतिक परिचय बनाएको भनिएको रास्वपाले समेत यो बिषय गम्भिर रुपमा बुझ्न नसक्दा जनताले भने सिमेन्ट उद्योगले पारेको असरबारे पनि बोल्न र चुनावी एजेण्डा बनाउन खवरदारी गरिरहेका छन् ।
नेपाली कांग्रेस र एमालेका नेताहरुलाई पनि हटियाका जनताले शिवम् सिमेन्ट अन्यत्र स्थानान्तरण गर्ने बिषयलाई चुनावी एजेण्डा बनाउन सचेत गराएका छन् । त्यस्तै, रास्वपालाई पनि शिवम् सिमेन्ट र रिद्धिसिद्धि सिमेन्टको प्रदुषणको एजेण्डा बनाउन हेटौडाका प्रदुषण पीडितहरुले माग गरेका छन् ।












