झापामा ‘कसलाई भोट दिनुहुन्छ?’ भन्दै प्रश्न गरे कारबाही गर्ने सिडिओ कार्यालयको चेतावनी

काठमाडौँ । जिल्लामा मतदाताको गोपनीयता भङ्ग गर्ने कार्य भइरहेको सूचना प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय झापाले निर्वाचन आचारसंहिता, २०८२ को दफा ४(द) बमोजिम आचारसंहिता उल्लङ्घनको चेतावनी जारी गरेको छ।
जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत अञ्जन न्यौपानेका अनुसार फेसबुक, युट्युव लगायतका सामाजिक सञ्जालका केही अनलाइन सञ्चार माध्यमहरूले सर्वसाधारणसँग ‘कसलाई भोट दिनुहुन्छ’ भन्ने प्रश्न सोध्दै मतदाताको गोपनीयता भङ्ग गर्ने प्रयास भइरहेको पाइएपछि यो सूचना जारी गरिएको हो।
सूचनामा उल्लेख छ ‘यस्तो कार्य भइहेका पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गरिनेछ।’
पछिल्ला केही समय यता काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह र एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि युट्युबरहरूले मतदाता गोपनीयता भङ्ग गर्ने किसिमका अनलाइन गतिविधि गरेको पाइएपछि पनि प्रशासनले सचेत रहन आग्रह गरेको छ।
मतदाता वा सञ्चार माध्यमले आचारसंहिता उल्लङ्घन गर्ने प्रयास गरेमा सम्बन्धितलाई कानुनी कारवाही गरिने जानकारी पनि सूचनामा समावेश गरिएको छ।













