मर्जर प्रस्ताव सहित युनिक नेपाल लघुवित्तले बोलायो साधारणसभा

२० माघ २०८२, मंगलवार ०७:३३

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो फागुन १३ गते बाँके, कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजामा बिहान ११ बजे सातौं वार्षिक साधारण सभा बोलाएको छ।

लघुवित्त विरोधी गतिविधिका कारण कर्जा असुलीमा समस्या भई आम्दानीको अधिकांश भाग नोक्सानीमा रहेको जस्ता कारण देखाई कम्पनीको सञ्चालक समितिको पुस २२ गते बैठकले लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ।

सो सभाले भविष्यमा कुनै लघुवित्त कम्पनीसँग मर्जरमा जान उपयुक्त लघुवित्त संस्था पहिचान गर्नेदेखि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदनका साथै वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत् सम्बन्धी अनुसूचीउपर छलफल गरी पारित गर्नेछ। चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्ने, एक जना सर्वसाधारण शेयरधनी र स्वतन्त्र सञ्चालकको मनोनयनलाई अनुमोदन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सातौं वार्षिक साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन ६ गते एक दिनका लागि शेयरधनी दर्ता किताब बन्द (बूक क्लोज) गर्ने निर्णय गरेको छ। बूक क्लोजको आधारमा फागुन ५ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीहरू मात्रै सो सभामा उपस्थित हुन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*