काठमाडौँ । भर्खरै सर्वसाधारणका लागि आईपीओ जारी गरेको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले वर्षदिन (सन् २०२५ ) मा ४ करोडको व्यापार गरेको छ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण भएको बन्दीपुर केबलकार जेठ ३१ गतेबाट व्यावसायिक रूपमा सञ्चालनमा आएको हो । छोटो अवधिमा नै कम्पनीले उल्लेख्य व्यापार गरि रहेको देखिएको छ ।
बन्दीपुर केबलकार विस २०६९ पुस २२ गतेमा निजी क्षेत्रको संस्थाका रूपमा स्थापना गरिएको हो । पछि वि.सं. २०७८ भदौ १३ गते (सन् २०२१ अगस्ट २९) मा यसलाई सार्वजनिक क्षेत्रको संस्थामा रूपान्तरण गरिएको हो । योसँगै कम्पनीले भदौ ११ देखि भदौ १५ गतेसम्म आम सर्वसाधारणलाई ४३ लाख ४१ हजार ८० कित्ता शेयर निष्काशन गरेको थियो । सो आईपीओ भदौ ३० गते सोमबार बाँडफाँड भइ नेप्सेमा सूचीकृत समेत भइसकेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता ११ सयभन्दा धेरै रहेको छ ।
केवलकार आयोजना रहेको स्थान नेपालकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक मानिने तनहुँ जिल्लाको बन्दीपुरमा अवस्थित छ । बन्दीपुरको डाँडाको टुप्पोबाट देखिने हिमाल शृङ्खलाको स्पष्ट दृश्य यस क्षेत्रको मुख्य आकर्षण हो । यहाँबाट धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, गणेश र लाङटाङ हिमालहरू प्रस्ट रूपमा अवलोकन गर्न सकिन्छ । साथै, अठारौँ शताब्दीको वास्तुकलालाई संरक्षण गर्दै आएको सांस्कृतिक गाउँ पनि बन्दीपुरको अर्को महत्वपूर्ण आकर्षण हो, जसले स्वदेशी तथा विदेशी दुवै पर्यटकलाई आकर्षित गरेको छ ।
बन्दीपुर काठमाडौँबाट करिब १४० किलोमिटर पश्चिमतर्फ, पोखरा जाने मुख्य मार्गमै पर्ने भएकाले यसको पहुँच सहज छ । यस आयोजनास्थलले रामकोट गाउँ र सिद्ध गुफा (नेपालकै ठूला गुफामध्ये एक) भ्रमण गर्न जाने पदयात्रीहरूका लागि प्रवेशद्वारको रूपमा पनि काम गरेको छ ।
केबलकार सञ्चालनका लागि अनुभवी निर्माण कम्पनीबाट प्राविधिक सहयोग लिइएको छ । बन्दीपुर केबलकारले भारतको कोलकातामा रहेको कन्वेयर एन्ड रोपवे सर्भिसेस प्राइभेट लिमिटेड नामक संस्थासँग सम्झौता गरेको छ । उक्त संस्था आइएसओ ९००१ः२००८ प्रमाणित कम्पनी हो र विगत चार दशकभन्दा बढी समयदेखि यात्रु बोक्ने तारमार्गको डिजाइन, निर्माण तथा जडान कार्यमा संलग्न रहँदै आएको छ ।
केयर रेटिङ्स नेपाल लिमिटेडले बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको कर्जा श्रेणी पुनरावलोकन गरेको छ । पुनरावलोकनपछि कम्पनीको जारीकर्ता श्रेणीकरण ‘केयर–एनपी डबल बी माइनस (जारीकर्ता श्रेणी)’ कायम गरिएको छ, जुन यसअघि ‘केयर–एनपी डबल बी (जारीकर्ता श्रेणी)’ मा रहेको थियो ।
कम्पनीको १ अर्ब ३० करोड रुपैयाँ बराबरको दीर्घकालीन बैंक कर्जा सुविधालाई ‘केयर–एनपी डबल बी माइनस’ श्रेणीमा राखिएको छ । पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउँदै आएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले बन्दीपुर क्षेत्रको पहुँच विस्तार, आन्तरिक तथा बाह्य पर्यटक आकर्षण र स्थानीय अर्थतन्त्र सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।













