जीवन बीमा कम्पनीको पोलिसी सरेण्डर २३.७७ प्रतिशतले घट्यो, पौषसम्म साढे पाँच अर्ब रुपैयाँ समर्पण

२५ माघ २०८२, आईतवार १७:११

काठमाडौं । जीवन बीमा कम्पनीहरुको पोलिसी सरेण्डर रकम २३.७७ प्रतिशतले घटेको छ । नेपालमा सञ्चालित रहेका जीवन बीमा कम्पनीहरुबाट चालु आर्थिक वर्षको पुष महिनासम्ममा सरेण्डरमार्फत साढे पाँच अर्बबढी रुपैयाँ बाहिरिएको हो ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कबमोजिम चालु आवको दोस्रो त्रैमास अर्थात पुष महिनासम्ममा जीवन बीमा कम्पनीहरुबाट पाँच अर्ब ६९ करोड २१ लाख रुपैयाँ बाहिरिएको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा २३.७७ प्रतिशत कम हो । गत आवको पुष महिनासम्म जीवन बीमा कम्पनीहरुबाट पोलिसी सरेण्डरमार्फत सात अर्ब ४६ करोड ६६ लाख रुपैयाँ बाहिरिएको थियो ।

सरेण्डर रकमसँगै बीमालेख त्याग गर्नेको संख्या पनि गत आवको तुलनामा घटेको छ । गत आवको पुष महिनासम्म ५४ हजार ४१४ जनाले बीमालेख सपर्मण गरेकोमा चालु आवको पुष महिनासम्म भने ५१ हजार ०७७ जनाले मात्रै पोलिसी समर्पण गरेका छन् । यस हिसाबमा बीमालेख समर्पण संख्या ६.१४ प्रतिशतले घटेको छ ।

त्यस्तै, जीवन बीमकहरुमा व्यतित बीमालेख रकम (नविकरण नगरिएको रकम) भने ४.५३ प्रतिशतले बढेको छ । गत आवको पुष महिनासम्ममा बीमालेख नविकरण नगरिएको रकम ३६ अर्ब १६ करोड ८९ लाख रुपैयाँ रहेकोमा चालु आवको सो अवधिसम्म ३७ अर्ब ८० करोड ७६ लाख रुपैयाँ रहेको छ । यता व्यतित बीमालेखको संख्या पनि ०.१७ प्रतिशत बढेर १२ लाख ३१ हजार ६५० वटा पोलिसी रिन्यु भएका छैनन् । गत आवको सोही अवधिसम्म यस्तो संख्या १२ लाख २८ हजार ५०६ रहेका थिए ।

स्रोतः बीमा प्रतिबिम्ब

जीवन बीमा कम्पनीहरुमा पोलिसी सरेण्डरदर कम भएपनि व्यतित भएका बीमालेख संख्या र रकम बढ्दै गइरहेको छ । यस्तो दर बढ्दै जाँदा बीमा कम्पनीहरुको व्यवसायमा प्रतिकुल असर पार्ने देखिन्छ । नियामक निकाय नेपाल बीमा प्राधिकरण, जीवन बीमा कम्पनी र अभिकर्ताहरुको अथक प्रयास र जनचेतनाका कारण पोलिसी सरेण्डरदर घट्न सफल भएको छ । केही समययता पोलिसी सरेण्डरको अवस्था भयाभह रहेको थियो ।

केही समययता देशमा उत्पन्न भएको राजनीतिक घटनाक्रम र लाखौं नागरिकहरु सहकारीमा डुबेसँगै बीमितहरुले जीवन बीमाको प्रिमियम पनि सोही सरह लगेर भाग्नै भन्दै पोलिसी सरेण्डर गर्ने चलन नै चलाएको थियो । तर, बीमा कम्पनी र अभिकर्ताहरुको उच्च सक्रियताले पोलिसी सरेण्डरदर घट्न पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*