जीवन बीमा कम्पनीहरूद्वारा ६ महीनामा ९३ अर्ब खुद बीमाशुल्क आर्जन, कुनको कति?

काठमाडौं । नेपालमा जीवन बीमा व्यवसाय गरिरहेका १४ वटै जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको दोस्रो त्रैमास (साउनदेखि पुस मसान्तसम्मको) अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। उक्त विवरण अनुसार कम्पनीहरूले ६ महीनामै ९३ अर्ब १८ करोड ५ लाख रुपैयाँभन्दा बढीको खुद बीमाशुल्क आर्जन गर्न सफल भएका हुन्।
कम्पनीहरूले गत आवको ६ महीनासम्म ८२ अर्ब ४ करोड ७० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका थिए। तथ्यांक अनुसार एक वर्षको अवधिमै जीवन बीमा कम्पनीहरूको खुद बीमाशुल्क आर्जन १३.५७ प्रतिशत (११ अर्ब रुपैयाँभन्दा बढी) ले वृद्धि भएको छ। कम्पनीमा कार्यरत हजारौं अभिकर्ताहरू आम नागरिकको गाउँगाउँमा/घरघरमा गएर जीवन बीमाको बारेमा शिक्षा प्रदान गर्दै बीमा पोलिसी बिक्री गरी व्यवसाय विस्तारमा लागिरहँदा उक्त राशीको खुद बीमाशुल्क कमाउन सम्भव भएको हो।
कुन कम्पनीको कति?
वित्तीय विवरण अनुसार नेपाल लाइफले सर्वाधिक २५ अर्ब ५३ करोड ६ लाख रुपैयाँ, दोस्रोमा नेशनल लाइफले १० अर्ब ७३ करोड ७१ लाख रुपैयाँ, तेस्रोमा एलआईसी नेपालले १० अर्ब १८ करोड २ लाख रुपैयाँ, चौथोमा हिमालयन लाइफले ८ अर्ब ४० करोड ७७ लाख रुपैयाँ, पाँचौंमा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ६ अर्ब २४ करोड १२ लाख रुपैयाँ, छैठौंमा सूर्यज्योति लाइफले ५ अर्ब ७१ करोड २ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

त्यसैगरी क्रमशः एशियन लाइफले ४ अर्ब ६४ करोड ६९ लाख रुपैयाँ, सिटिजन लाइफले ३ अर्ब ८८ करोड ८७ लाख रुपैयाँ, सिटिजन लाइफले ३ अर्ब ८८ करोड ८७ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ३ अर्ब ५५ करोड ६२ लाख रुपैयाँ, आइएमई लाइफले ३ अर्ब १९ करोड २१ लाख रुपैयाँ, मेटलाइफले ३ अर्ब १० करोड ९० लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले २ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २ अर्ब ७७ करोड ७२ लाख रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब २६ करोड ५८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।
वृद्धिदरमा को अगाडि?
गत आवको ६ महीनाको तुलनामा चालू आवको सोही अवधिमा सोही कम्पनीले आर्जन गरेको खुद बीमाशुल्क दाँजेर हेर्ने हो भने आइएमई लाइफको सर्वाधिक ३६.४५ प्रतिशत, रिलायबल नेपालको ३२.३९ प्रतिशत, प्रभु महालक्ष्मीको २२.४७ प्रतिशत, सिटिजनको २२.२३ प्रतिशत, नेपालको १५.३७ प्रतिशत, सूर्यज्योतिको १४.६३ प्रतिशत र सानिमा रिलायन्सको १४.२९ प्रतिशतले बढेको छ।

त्यसैगरी क्रमशः मेटलाइफको १३.१७ प्रतिशत, नेशनल लाइफको १३.१५ प्रतिशत, एशियन लाइफको ११.४० प्रतिशत, सरकारी स्वामित्वको राष्ट्रि जीवन बीमा कम्पनीको ८.४२ प्रतिशत, एलआईसी नेपालको ८.२४ प्रतिशत, हिमालयन लाइफको ४.३० प्रतिशत र सन नेपाल लाइफको ३.६४ प्रतिशतले खुद बीमाशुल्क आर्जनमा वृद्धि भएको वित्तीय विवरणले देखाएको छ।












