जीवन बीमा कम्पनीहरुको नविकरण बीमा शुल्क आर्जन १४% ले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ र एलआइसी नेपाल

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२–०८३ को माघ मसान्तसम्मको अवधिमा ८५ अर्ब ९४ करोड १० लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले सात महिनाको अवधिमा सो नविकरण बीमा शुल्क आर्जन गरेका हुन् ।
विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बीमा कम्पनीहरुको नविकरण बीमा शुल्क आर्जन १४.२० प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीहरुले ७५ अर्ब २५ करोड २७ लाख रुपैयाँ बराबरको नविकरण बीमा शुल्क आर्जन गरेका थिए । जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा बृद्धि आएसँगै प्रत्यक वर्ष पोलिसी नविकरणमा पनि बृद्धि आएका कारण नविकरण बीमा शुल्क आर्जन बढ्दै गएको छ ।
समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्स र एलाईसी नेपालको नविकरण बीमा शुल्क आर्जन सबैभन्दा बढी रहेको छ । गत आर्थिक वर्षको तुलनामा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी र आइएमई लाइफ इन्स्योरेन्सको सो रकम सर्वाधिक प्रतिशतले बृद्धि भएको छ ।

स्रोतः नेपाल बीमा प्राधिकरण
चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले २२ अर्ब ८३ करोड ९३ लाख रुपैयाँ, एलआईसी नेपालले १० अर्ब १० करोड दुई लाख रुपैयाँ, नेशनल लाइफ इन्स्योरेन्सले नौ अर्ब ६७ करोड ६१ लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सले नौ अर्ब चार करोड ९३ लाख रुपैयाँ बराबरको नविकरण बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ६ अर्ब ८३ करोड ४६ लाख रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सले चार अर्ब ९६ करोड ३२ लाख रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सले चार अर्ब २५ करोड २७ लाख रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सले तीन अर्ब २१ करोड ९९ लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले तीन अर्ब १२ करोड ८० लाख बराबर नविकरण बीमा शुल्क आर्जन गरेको छ ।
समीक्षा अवधिमा मेट लाइफ नेपालले दुई अर्ब ८२ करोड ९९ लाख रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सले दुई अर्ब ५० करोड ८५ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले दुई अर्ब ३४ करोड ६१ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले दुई अर्ब ३३ करोड ६३ लाख रुपैयाँ र सन नेपाल लाइफ इन्स्योरेन्सले एक अर्ब ८५ करोड ६४ लाख रुपैयाँ बराबरको नविकरण बीमा शुल्क आर्जन गरेको छ ।












