एलआईसी नेपाललाई ‘डबल ए माइनस’ रेटिङ, विश्वसनीयता र दायित्व पूर्तिमा अब्बल

काठमाडौँ । नेपालको जीवन बीमा क्षेत्रमा लामो अनुभव बटुलेको लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल) को मूल्याङ्कन स्तर उकासिएको छ । इक्रा नेपालले कम्पनीको स्तर ‘डबल ए माइनस’ मा पु-याउँदै यसअघि रहेको ‘ए प्लस’ भन्दा माथि राखेको हो ।
यसले कम्पनीले आफ्ना वित्तीय दायित्व समयमै पुरा गर्ने क्षमतामा उच्च सुरक्षा रहेको र अत्यन्त न्यून जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको रेटिङ उकासिनुको प्रमुख आधार पछिल्लो दुई वर्षमा कम्पनीले नयाँ व्यवसाय प्रिमियममा देखाएको स्थिर वृद्धि हो । अघिल्ला वर्षहरूमा देखिएको गिरावटलाई उल्टाउँदै कम्पनीले व्यवसाय विस्तारमा सुधार ल्याएको छ । साथै, पछिल्लो मूल्याङ्कनपछि कम्पनीले नियामकले तोकेको न्यूनतम चुक्ता पूँजी आवश्यकतासमेत पुरा गरेको छ । करिब ८८ प्रतिशत हकप्रद तथा बोनस शेयर निष्कासनपछि कम्पनीको पूँजी ५ अर्ब ५० करोड रुपैयाँ पुगेको छ जुन न्यूनतम ५ अर्ब रुपैयाँको सीमा भन्दा माथि हो ।
यस पूँजी वृद्धिले कम्पनीको सञ्चालन, वित्तीय अवस्था तथा सोल्भेन्सी स्थितिलाई थप मजबुत बनाएको छ । मध्य जुलाई २०२५ सम्म कम्पनीको सोल्भेन्सी अनुपात करिब १६१ प्रतिशत रहेको छ । सम्पत्ति आधारका हिसाबले कम्पनी नेपालकै दोस्रो ठूलो जीवन बीमा कम्पनीका रूपमा स्थापित छ ।
कम्पनीको स्वामित्व संरचना पनि यसको बलियो पक्ष हो । लाइफ इन्स्योरेन्स कर्पोरेशन अफ इन्डियाको ५५ प्रतिशत तथा विशाल समूहको १० प्रतिशत स्वामित्व रहेको छ । सन् २००१ देखि सञ्चालनमा रहेको कम्पनीसँग अनुभवी सञ्चालक समिति र दक्ष व्यवस्थापन टोली छ जसले यसको दीर्घकालीन स्थायित्वलाई बल पु-याएको छ ।
लगानीको गुणस्तर पनि सन्तोषजनक रहेको छ । कुल लगानीको करिब ६६ प्रतिशत वाणिज्य बैंकहरूमा मुद्दती निक्षेपका रूपमा रहेको छ । पुनर्बीमा व्यवस्था पर्याप्त रहेको, सञ्चालन खर्च नियन्त्रणमा रहेको तथा नाफा सूचकहरू राम्रो देखिएको पनि सकारात्मक पक्ष हुन् । कम्पनीको व्यवसाय संरचनामा ९९ प्रतिशतभन्दा बढी हिस्सा अन्त्यावधि बीमाले ओगटेको छ । साथै, आर्थिक वर्ष २०२५ मा नवीकरण दर करिब ९५ प्रतिशत पुगेको छ जुन अघिल्लो वर्षको ८९ प्रतिशतको तुलनामा उल्लेखनीय सुधार हो ।
जुलाई २०२५ को मध्यसम्म कम्पनीसँग देशभर ८५ वटा शाखा (प्रदेश कार्यालय र मुख्य कार्यालय सहित), करिब १३ हजार ८०० एजेन्टहरू (जसमा करिब ६ हजार १०० सक्रिय एजेन्टहरू) र ९६ कर्पोरेट शाखाहरु रहेका छन् ।













