जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय २१% ले बढ्यो, अग्रस्थान नेपाल र आइएमई लाइफको उच्च बृद्धि

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन महिनासम्ममा २८ अर्ब रुपैयाँ माथिको प्रथम बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले ८ महिनामा उक्त नयाँ व्यवसाय गरेका हुन् ।
जीवन बीमा कम्पनीहरुको नयाँ बीमा व्यवसाय गत आर्थिक वर्षको तुलनामा २१.८९ प्रतिशतले बृद्धि भएर २८ अर्ब १४ करोड ७५ लाख रुपैयाँ रहेको छ । कम्पनीहरुले गत आर्थिक वर्षको सोही अवधिमा २३ अर्ब नौ करोड १९ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेका थिए ।
विवरण अनुसार फागुन महिनासम्ममा नेपाल लाइफ र नेशनल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । यता, गत आवको तुलनामा नयाँ व्यवसाय बृद्धिको आधारमा आइएमई लाइफ र सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी आक्रामक देखिएका छन् ।
समीक्षा अवधिमा १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये हिमालयन लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्सको प्रथम बीमा शुल्क आर्जन सामान्य अंकले घट्न पुगेको छ । यता, सन नेपाल लाइफले वैदेशिक रोजगार बीमा कारोबार बहिस्कार गरेका कारण प्रथम बीमा शुल्क आर्जन सामान्य अंकले घट्न पुगेको हो ।
समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सको प्रथम बीमा शुल्क आर्जन ३५.६० प्रतिशतले बृद्धि भएर सात अर्ब ४२ करोड ४३ लाख रुपैयाँ र दोस्रो स्थनामा रहेको रहेको नेशनल लाइफ इन्स्योरेन्सको सो बीमा शुल्क आर्जन १६.९२ प्रतिशतले बृद्धि भएर चार अर्ब चार करोड १६ लाख रुपैयाँ रहेको छ ।

स्रोतः नेपाल बीमा प्राधिकरण
साथै, आईएमई लाइफ इन्स्योरेन्स पनि वित्तीय व्यवसायिक रुपमा निकै बलियो बन्दै गइरहेको छ । कम्पनीले गत आर्थिक वर्षको तुलनामा आफ्नो नयाँ व्यवसायलाई ५२.६३ प्रतिशतले बृद्धि गराउन सफल भएको छ । कम्पनीले फागुन महिनासम्मको अवधिमा एक अर्ब ४८ करोड ४४ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेको छ ।
सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बीमा शुल्क आर्जन ४६.७८ प्रतिशत, एशियन लाइफ इन्स्योरेन्सको ३१.०७ प्रतिशत, सिटिजन लाइफ इन्स्योरेन्सको २८.२२ प्रतिशत, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको २८.२२ प्रतिशत, एलआइसी नेपालको २५.६१ प्रतिशतले नयाँ बीमा शुल्क आर्जन बृद्धि भएको छ ।
त्यस्तै, मेट लाइफको २०.३९ प्रतिशत, नेशनल लाइफ इन्स्योरेन्सको १६.९२ प्रतिशत, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १६.५४ प्रतिशत, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ९.३५ प्रतिशत र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ७.१८ प्रतिशतले बृद्धि भएको छ ।
समीक्षा अवधिमा हिमालयन लाइफ इन्स्योरेन्सको ८.२२ प्रतिशत र सन नेपाल लाइफ इन्स्योरेन्सको २२ ७९ प्रतिशतले प्रथम बीमा शुल्क आर्जन घट्न पुगेको छ ।












