बाग्मती प्रदेशबाट मात्रै ५६ अर्बको बीमा व्यवसाय, अन्य प्रदेशबाट कति?

काठमाडौं । चालू आर्थिक वर्षको आठ महीनामा जीवन बीमा व्यवसाय गर्ने १४ जीवन बीमा कम्पनी र ३ लघु जीवन बीमा कम्पनीहरूले १ खर्ब २७ अर्ब ६८ करोड ८१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।
प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै बीमा व्यवसाय बाग्मती प्रदेशमा भएको तथ्यांकले देखाएको छ। यो प्रदेशमा मात्रै ५६ अर्ब ४६ करोड ४५ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको छ। बाग्मती प्रदेशभित्र देशकै राजधानी रहेको, जनसंख्या बाक्लो भएको, प्रशासनीक र केन्द्रीय कार्यालयहरू रहेको र विकासको हिसाबले पनि यो प्रदेश अग्रस्थानमा भएकोले यो प्रदेशबाट ठूलो राशिको व्यवसाय भएको हो।
त्यसपछि लुम्बिनी प्रदेशबाट २० अर्ब १५ करोड ८० लाख रुपैयाँको बीमा व्यवसाय भएको छ भने तेस्रोमा कोशी प्रदेशबाट १५ अर्ब १५ करोड ८५ लाख रुपैयाँको बीमा व्यवसाय भएको देखिएको छ। त्यसैगरी गण्डकी प्रदेशबाट १२ अर्ब ९८ करोड ९४ लाख रुपैयाँ र मधेश प्रदेशबाट ११ अर्ब ४४ करोड २ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको छ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशबाट ७ अर्ब ६८ करोड १३ लाख रुपैयाँ र कर्णाली प्रदेशबाट सबैभन्दा कम ३ अर्ब ७९ करोड ५९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन भएको देखिन्छ। सरसर्ती हेर्दा सुदूरपश्चिम र कर्णाली प्रदेशबाट निकै कम मात्रामा बीमा व्यवसाय भएको देखिए तापनि भौगोलिक जटिलता र विकासका पूर्वाधारको अभावको बाबजूद जीवन बीमा कम्पनीमा कार्यरत अभिकर्ताहरूको मेहेनत र लगनशीलताका कारण बीमितको घरघरमै पुगेर जीवन बीमा पोलिसी बिक्री गर्दै उक्त मात्रामा बीमा व्यवसाय गर्न सफल भएका हुन्।













