फागुनमा एशियन, प्रभु महालक्ष्मी र सिटिजन लाइफको व्यवसायमा उच्च बृद्धि, नेपाल र नेशनलको घट्यो

१२ चैत्र २०८२, बिहीबार १३:३२

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन महिनामा १३ अर्ब ६६ करोड ७९ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुले उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।

विवरण अनुुसार गत आर्थिक वर्षको तुलनामा जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय २.५८ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले गत आर्थिक वर्षको सोही अवधिमा १३ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेक थिए । कम्पनीहरुले आफ्नो बीमा व्यवसायलाई उल्लेख्य मात्रामा बृद्धि गराएका छन् ।

कुल बीमा शुल्क आर्जनको आधारमान नेपाल लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स अग्रस्थानमा छन् भने बृद्धिदरका आधारमा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी र एशियन लाइफ इन्स्योरेन्स अघि रहेका छन् ।

फागुन महिनामा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले फागुन महिनामा तीन अर्ब ३७ करोड ९० लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको तुलनामा कम्पनीको व्यवसाय झिनो अंकले घट्न पुगेको छ ।

दोस्रो नम्बरमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन एक अर्ब ६९ करोड नौ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको तुलनामा फागुन महिनामा कम्पनीको कुल बीमा शुल्क आर्जन २९.३१ प्रतिशतले घट्न पुगेको छ ।

स्रोतः नेपाल बीमा प्राधिकरण

साथै, सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवसाय रफ्तारमा अघि बढीरहेको छ । फागुनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १०४.४० प्रतिशतले सर्वाधिक बृद्धि भएको छ । एशियन लाइफ इन्स्योरेन्स पनि फागुन महिनामा सर्वाधिक व्यवसाय बृद्धि गर्ने जीवन बीमा कम्पनीहरुमध्ये दोस्रो स्थानमा रहेको छ । कम्पनीको बीमा व्यवसाय गत आर्थिक वर्षको तुलनामा ३२.७४ प्रतिशतले बृद्धि भएको छ ।

फागुन महिनामा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको २१.७४ प्रतिशत, सिटिजन लाइफ इन्स्योरेन्सको १५.९४ प्रतिशत, आइएमई लाइफ इन्स्योरेन्सको १५.९४ प्रतिशत, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ९.६० प्रतिशत, मेट लाइफ नेपालको ६.९३ प्रतिशत, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ४.६० प्रतिशत, एलआइसी नेपालको २.३२ प्रतिशतले कुल बीमा शुल्क आर्जन बृद्धि भएको छ ।

समीक्षा अवधिमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ०.३८ प्रतिशतले कुल बीमा शुल्क आर्जन बढेको छ । साथै, फागुन महिनामा नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन घट्न पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*