एनआईसी एसिया बैंकभित्रको झगडाको मारमा सर्वसाधारणः वित्तीय अवस्था खराब, ४४ शाखा बन्द

१७ चैत्र २०८२, मंगलवार ११:२९

काठमाडौं । एनआईसी एसिया बैंकभित्रका सञ्चालक मालिकहरुले भ्रष्टाचार गरेको रकम बाँडफाँडमा ठूलो झगडा पर्यो । उक्त झगडा एकले अर्कोलाई सिध्याउनेसम्मको अवस्थामा पुग्यो । परिणाम अहिले बैंकको खराव कर्जा मापदण्ड भन्दा उच्च ७.४७ प्रतिशतमा पुगेको छ भने बैंकले आगामी बैशाख ३ गतेबाट देशैभरका ४४ वटा शाखा कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

एनआईसी एसिया बैंकमा नयाँ सिईओ सुजित कुमार शाक्य नियुक्त भएको पनि ५ महिना भइसकेको छ । बैंकलाई पुनर्संरचना गर्ने उनको रणनीतिक योजना प्रभावकारी भइरहेको छ वा उधोगति तर्फ अघि बढिरहेको छ भनेर समीक्षा गर्ने बेला भएको तथ्य, घटनाक्रम र परिदृष्यहरुले औल्याएका छन् ।

देशको सबैभन्दा ठूलो शाखा सञ्जाल भएको एनआईसी एसिया बैंक पछिल्लो एक दशक आक्रामक बैंकिङ कारोबारमा उत्रियो । देशका ७७ वटै जिल्लामा बैंकको शाखा सञ्जाल विस्तार भई कूल शाखा संख्या ३६०, ११६ वटा विस्तारित काउन्टर र ४२ वटा शाखा रहित शाखा सञ्जाल पुग्यो । एनआईसी एसिया बैंकमा करिब ३० लाखभन्दा खाता सञ्चालित छ । बैंकमा कूल निक्षेप ३ खर्ब १९ अर्ब छ भने कूल कर्जा प्रवाह २ खर्ब १७ अर्ब रहेको छ ।

तर, पछिल्लो चार बर्षदेखि एनआईसी एसिया बैंकमा सञ्चालक र व्यवस्थापकहरुबीचको झगडा उत्कर्षमा पुग्यो । एकले अर्कोलाई सिध्याउने सम्ममा उनीहरु उत्रिए । नेपाल राष्ट्रमार्फत तीन बर्षसम्म एनआईसी एसिया बैंकले ऋण प्रवाह नै गर्न नपाउने गरी भित्रभित्रै सेटिङ हानियो । तथ्याङ्कमा हेर्दा पनि देखिन्छ कि गत मंसिर महिनासम्म एनआईसी एसिया बैंकबाट प्रवाह भएको नयाँ ऋण अत्यन्तै न्यून वा शुन्य छ । पुँजिकोषको अनुपात मिलेकै थिएन । सोही कारण बैंकलाई ऋण लगानी गर्न प्रतिबन्ध लगाइएको भनियो । बैंकका ग्राहकहरुले क्रेडिट कार्ड समेत पाएनन् । अटो, घरजग्गा सबै ऋण बन्द गरियो । बैंकमा कुनै सुधार आएन ।

जब आईएमएफले भने अनुसार स्वतन्त्र लेखापरिक्षकबाट नेपालका १० ठूला बैंकको अडिट हुने भयो तब एनआईसी एसिया बैंकको समस्याको गाँठो फुस्किने अवस्थामा पुग्यो । सबैभन्दा पहिले २०८२ असोजमा सिईओ रोशन कुमार न्यौपानेले राजिनामा दिए । समस्याको समाधान अझै भएको थिएन । बैंकको अध्यक्ष तुलसीराम अग्रवाल संघाईले २०८२ पुष पहिलो सातामा राजिनामा दिए । बैंकका अध्यक्ष फेरियो अनि सिईओ पनि फेरिए । बंगलादेशको स्वतन्त्र अडिट संस्था हाउल्याडर युनुस एन्ड कम्पनीले अडिट गर्न थालेपछि एनआईसी एसिया बैंकले गत पुसदेखि बल्ल ऋण दिन सुरु गरेको छ ।

सरसर्ती हेर्दा घटना सामान्य लागे पनि एनआईसी एसिया बैंकभित्रका शेयरधनीहरुको झगडा र लफडाको कारण यो समस्या आएको स्पष्ट छ । बिशाल ग्रुप र संघाई ग्रुप बीचको झगडाको कारण बैंकभित्र निकुञ्ज अग्रवालले अनावश्यक हस्तक्षेप थियो । सिईओ बैंकलाई सिष्टममा चलाउन खोज्ने अग्रवाल बैंकभित्र विभिन्न खर्चको नाममा भ्रष्टाचार गर्न खोज्ने । सञ्चालक र उनका आसेपासेहरुको छद्म नाममा खोलिएका कम्पनीबाट सेवा तथा बस्तु खरिददेखि अन्य थुप्रै भ्रष्टाचारको अन्तिम रुप आजको अवस्थामा बैंक आईपुगेको छ ।

अहिलेका नयाँ सिईओ सुजित शाक्य पनि आम सर्वसाधारणको हित भन्दा पनि बैंकलाई नाफा र मालिक रिझाउने दिशामा अग्रसर भएका छन् । एकातिर बैंकभित्र कर्मचारीहरुमा गुटबन्दी गरेर कुन सञ्चालक निकट कुन सञ्चालकको पराई भन्दै व्यवहार गरिरहेका छन् । अर्कोतर्फ शाक्यको प्रवेश लगत्तै एटिएमबाट कार्डलेस भुक्तानी रोक्का गरेर आम सर्वसाधारणलाई निकै ठूलो सास्ती हैरानी दिए । बैंकको आम्दानी बढाउन शाक्यले सेवाग्राहीले पाउँदै आएको उक्त सुविधा गत माघ १ गतेदेखि बन्द गरिएको छ ।

अहिलेका नयाँ सिईओले बैंकको खर्च घटाउने भन्दै ४४ वटा शाखा कार्यालयहरु बन्द गर्ने निर्णय गरेका छन् । नेपाल राष्ट्र बैंकले शाखा मर्जका लागि सहज नीति ल्याउँदा एनआईसी एशियालाई मिल्यो । अहिले धमाधम बैंक शाखा कार्यालय बन्द गर्ने तिर लागेको छ । उक्त निर्णयले लाखौं सेवाग्राहीहरु प्रभावित हुनेछन् । पायक पर्ने ठाउँमा, घर नजिकै, सजिलोका लागि खोलिएका बैंक खाताहरु बैंकको शाखा नै सरेर अन्यत्र गएपछि सर्वसाधारण प्रभावित हुने नै भएका छन् । यकिन तथ्याङ्क त छैन तर यो निर्णयबाट ४४ वटा शाखामा खाता खोलेका करिब पाँच लाख भन्दा बढि सेवाग्राहीहरु प्रभावित हुनसक्नेछन् । अझ ५ वटा शाखा कार्यालय बैंकले एउटै शाखामा मर्ज गरेको छ । जसबाट ग्राहकलाई हैरानी हुने पक्कापक्की नै छ ।

उता, बैंकको खराव कर्जाको रेसियो नेपाल राष्ट्र बैंकले तोकेको ५ प्रतिशतभन्दा धेरै नै माथि पुगेको छ । जसका कारण ठूला निक्षेपकर्ताहरु सचेत हुनुपर्ने तहमा पुगिसकेको छ । कुनै पनि बैंक तथा वित्तीय संस्थाको खराव कर्जा रेसियो ५ प्रतिशतभन्दा माथि जानु राम्रो सूचक होइन । खराब कर्जाको आकार बढ्दै जादा गैरबैकिङ सम्पत्ति निरन्तर उकालो लागि रहेको छ । बैंकका अधिकांश वित्तीय सूचक खस्किदै गएको देखिन्छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय अवस्थालाई हेर्दा अन्य वाणिज्य बैैंकको तुलनामा एनआईसी वित्तीय रुपमा खोक्रो भइसकेको अवस्था छ ।

कर्मचारीमा गुटबन्दी, लाखौं सेवाग्राहीहरु प्रभावित हुने गरी शाखा बन्द गर्ने निर्णय र बढ्दो खराज कर्जाले एनआईसी एसिया बैंकको पुनर्संरचना रणनीति फेल भएको त होइन ? प्रश्न उठेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*