सहुलियतको फाइबर इन्टरनेटमा ग्राहकको आकर्षण, १८ दिनमै थपिए ११ हजारभन्दा बढी

काठमाडौं । नेपाल टेलिकमले सहुलियत दरमा उपलब्ध गराउन थालेको फाइबर इन्टरनेट सेवा लिने ग्राहकको संख्या उल्लेख्य रूपमा बढेको छ। सरकारले इन्टरनेट सेवा महँगो भएको सर्वसाधारणको गुनासो सम्बोधन गर्न विशेष पहल गरेपछि टेलिकमले गत असोज ३० गतेदेखि सस्तो दरमा फाइबर इन्टरनेट सेवा उपलब्ध गराउन थालेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार असोज ३० देखि कात्तिक १६ गतेसम्म ११ हजार ७६४ नयाँ ग्राहकले नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवा लिएका छन्। तीमध्ये ४० प्रतिशत ग्राहकले सहुलियत दरको प्याकेज रोजेका छन्।
गत वर्षको कात्तिक महिनाभरि भने जम्मा २ हजार ९८१ ग्राहकले मात्रै यो सेवा लिएका थिए। यसले सहुलियत दरमा इन्टरनेट उपलब्ध गराउँदा ग्राहकको आकर्षण बढेको देखाएको छ।
विशेषगरी सामान्य इन्टरनेट चलाउन आवश्यक पर्ने तर कम क्षमता भए पनि महँगो प्याकेज लिनुपर्ने बाध्यतामा रहेका व्यक्ति तथा परिवारका लागि यो सेवा उपयोगी बनेको सरकारको भनाइ छ। पछिल्लो तीन सातामा मात्रै इन्टरनेट जडानका लागि नेपाल टेलिकमको अनलाइन सेवा तथा कल सेन्टरमार्फत २८ हजार १९२ जनाले नाम टिपाएका छन्।
यसैबीच नेपाल टेलिकमले दुर्गम क्षेत्रसहित देशका विभिन्न १ हजार ६०० स्थानमा चालु आर्थिक वर्षभित्र फोरजी–एलटीई सेवा विस्तार गर्ने तयारी गरेको छ। यसका लागि बोलपत्रसमेत आह्वान भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
सरकारले दूरसञ्चार सेवालाई थप गुणस्तरीय, भरपर्दो, प्रतिस्पर्धी र सर्वसाधारणको पहुँचमा पु¥याउने लक्ष्य लिएको छ। चालु आर्थिक वर्षलाई दूरसञ्चार क्षेत्रको रूपान्तरणकारी वर्ष बनाउने योजनाअनुसार आवश्यक नीति, कानुन तथा संस्थागत र संरचनागत सुधार अघि बढाइने पनि सरकारले जनाएको छ।











