कान्तिपुर फर्मास्युटिकल्सलाई आईपीओ निष्कासनको अनुमति, १७ लाख कित्ता शेयर सर्वसाधारणलाई बेच्ने

काठमाडौं । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ।
कम्पनीले १७ लाख कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको हो। यसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १७ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले पाएको छ।
कान्तिपुर फर्मास्युटिकल्स ल्याब पशुपन्छी तथा जनावरको स्वास्थ्यसँग सम्बन्धित औषधि र पोषणयुक्त सामग्री उत्पादन गर्ने कम्पनी हो। कम्पनीले कुखुरा, गाईवस्तु, घोडा, बंगुरलगायत पशुपन्छीका लागि आवश्यक औषधि तथा पशु आहारमा प्रयोग हुने पोषणयुक्त सामग्री उत्पादन र बिक्री गर्दै आएको छ।
कम्पनीले आफ्ना उत्पादनको गुणस्तर परीक्षण र अनुसन्धानका लागि प्रयोगशाला पनि सञ्चालन गर्दै आएको जनाएको छ। यसको कर्पोरेट कार्यालय ललितपुरको बालकुमारीमा र उत्पादन कारखाना काभ्रेको पाँचखालमा रहेको छ।











