तीन महीनामा प्रथम बीमाशुल्क संकलन ३३.६७ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति?

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरूको प्रथम बीमाशुल्क संकलनमा उल्लेख्य वृद्धि देखिएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म १४ जीवन बीमा कम्पनीले कुल १२ अर्ब ७५ करोड ३३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन्। यो गत आर्थिक वर्षको सोही अवधिमा संकलन भएको ९ अर्ब ५४ करोड ९ लाख रुपैयाँको तुलनामा ३३.६७ प्रतिशतले बढी हो।
प्रथम बीमाशुल्क संकलनका आधारमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ। कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म ३ अर्ब १५ करोड १२ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ७० करोड ७९ लाख रुपैयाँ संकलन गरेको थियो। यस वर्ष कम्पनीको प्रथम बीमाशुल्क संकलन १६.३७ प्रतिशतले बढेको हो।
त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ। कम्पनीले २ अर्ब ११ करोड ३१ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३१ करोड ६९ लाख रुपैयाँ संकलन गरेकोमा यस वर्ष ६०.४६ प्रतिशतको वृद्धि हासिल गरेको हो। अर्बभन्दा बढी प्रथम बीमाशुल्क संकलन गर्ने कम्पनी यी दुई मात्र रहेका छन्।
अन्य १२ कम्पनीको प्रथम बीमाशुल्क संकलन करोडको सीमाभित्र रहेको छ। सूर्यज्योति लाइफ इन्स्योरेन्सले ८८ करोड ८८ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गर्दै तेस्रो स्थान कायम गरेको छ। कम्पनीको संकलन गत वर्षको तुलनामा ४४.९३ प्रतिशतले बढेको हो। त्यस्तै एलआईसी नेपालले ८१ करोड ३९ लाख रुपैयाँ संकलन गरेको छ। कम्पनीको प्रथम बीमाशुल्क संकलन १९.७९ प्रतिशतले वृद्धि भएको छ। सिटिजन लाइफ इन्स्योरेन्सले ७७ करोड २३ लाख रुपैयाँ संकलन गर्दै पाँचौँ स्थान हासिल गरेको छ। कम्पनीको वृद्धिदर २९.११ प्रतिशत रहेको छ।

आईएमई लाइफले ७३ करोड ९४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको संकलन ७४.१० प्रतिशतले बढेको हो। वृद्धिदरका आधारमा आईएमई लाइफ सबैभन्दा अगाडि रहेको छ। हिमालयन लाइफले ६९ करोड १७ लाख रुपैयाँ संकलन गरेको छ भने कम्पनीको वृद्धिदर २६.५४ प्रतिशत रहेको छ। एशियन लाइफले ६७ करोड ३३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गर्दै ४७.०५ प्रतिशतको वृद्धि हासिल गरेको छ। त्यस्तै सानिमा रिलायन्स लाइफले ६४ करोड २२ लाख रुपैयाँ संकलन गरेको छ। कम्पनीको प्रथम बीमाशुल्क संकलन गत वर्षको तुलनामा ४७.०३ प्रतिशतले बढेको छ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ६० करोड ९८ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ भने यस कम्पनीको वृद्धिदर ४९.२२ प्रतिशत रहेको छ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ५५ करोड १४ लाख रुपैयाँ संकलन गर्दै ७२.०२ प्रतिशतको वृद्धि हासिल गरेको छ। वृद्धिदरका आधारमा प्रभु महालक्ष्मी लाइफ दोस्रो स्थानमा रहेको छ। मेट लाइफले ४६ करोड ९९ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ भने कम्पनीको संकलन २४.४३ प्रतिशतले बढेको छ। सन नेपाल लाइफ इन्स्योरेन्सले ३३ करोड २० लाख रुपैयाँ संकलन गरेको छ। कम्पनीले गत वर्षको तुलनामा ६८.२१ प्रतिशतको वृद्धि हासिल गरेको छ।
यता, राष्ट्रिय जीवन बीमा कम्पनीको प्रथम बीमाशुल्क संकलन भने घटेको छ। कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म ३० करोड ३६ लाख रुपैयाँ मात्र संकलन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४५ करोड ४६ लाख रुपैयाँ संकलन गरेको थियो। यससँगै कम्पनीको प्रथम बीमाशुल्क संकलन ३३.२२ प्रतिशतले घटेको देखिन्छ। समीक्षा अवधिमा प्रथम बीमाशुल्क संकलन घट्ने कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनी एक मात्र रहेको छ।











