नवीकरण बीमाशुल्क १२.८० प्रतिशतले बढ्योः नेपाल र नेशलन अग्रस्थानमा, आइएमई लाइफको उच्च वृद्धि

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म ४४ अर्ब ७६ करोड ८७ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन्। गत आर्थिक वर्षको असोज मसान्तसम्मको तुलनामा यो रकम १२.८० प्रतिशतले बढी हो।
नेपाल लाइफ इन्स्योरेन्सले नवीकरण बीमाशुल्क संकलनमा आफ्नो अग्रस्थानलाई थप मजबुत बनाएको छ। कम्पनीले चालु आवको तीन महीनामा ११ अर्ब ५७ करोड ७६ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले १० अर्ब ७४ करोड ७० लाख रुपैयाँ संकलन गरेको थियो। यस वर्ष कम्पनीको नवीकरण बीमाशुल्क ७.७३ प्रतिशतले बढेको छ।
नवीकरण बीमाशुल्क संकलनमा नेशनल लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ। कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म ५ अर्ब २४ करोड ९४ लाख रुपैयाँ संकलन गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीको यस्तो संकलन ४ अर्ब ३६ करोड ७८ लाख रुपैयाँ थियो। यसअनुसार नेशनल लाइफको नवीकरण बीमाशुल्क संकलन २०.१८ प्रतिशतले बढेको देखिन्छ। त्यसैगरी एलआईसी नेपालले ४ अर्ब ६४ करोड ३८ लाख रुपैयाँ संकलन गर्दै तेस्रो स्थान कायम गरेको छ। राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ५२ करोड ८१ लाख रुपैयाँ संकलन गरेको छ भने हिमालयन लाइफले ४ अर्ब ४५ करोड ९६ लाख रुपैयाँ र सूर्यज्योति लाइफले २ अर्ब ६२ करोड ६९ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन्।
एशियन लाइफले २ अर्ब १० करोड ९१ लाख रुपैयाँ संकलन गर्दा सिटिजन लाइफले १ अर्ब ७४ करोड ७७ लाख रुपैयाँ संकलन गरेको छ। सानिमा रिलायन्स लाइफले १ अर्ब ६० करोड ३५ लाख रुपैयाँ, आईएमई लाइफले १ अर्ब ४३ करोड ६ लाख रुपैयाँ र मेट लाइफले १ अर्ब ३९ करोड ७२ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन्। त्यस्तै प्रभु महालक्ष्मी लाइफले १ अर्ब २८ करोड ९० लाख रुपैयाँ र रिलायबल नेपाल लाइफले १ अर्ब २४ करोड १० लाख रुपैयाँ संकलन गरेका छन्। सन नेपाल लाइफले भने ८६ करोड ४५ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ।

वृद्धिदरका आधारमा हेर्दा आईएमई लाइफ सबैभन्दा अगाडि देखिएको छ। कम्पनीको नवीकरण बीमाशुल्क गत वर्षको तुलनामा ३१.१६ प्रतिशतले बढेको छ। प्रभु महालक्ष्मी लाइफको १९.३५ प्रतिशत, रिलायबल नेपाल लाइफको १८.४३ प्रतिशत, सानिमा रिलायन्स लाइफको १६.४३ प्रतिशत र एशियन लाइफको १६.४२ प्रतिशतले वृद्धि भएको छ।
त्यस्तै सूर्यज्योति लाइफको नवीकरण बीमाशुल्क १५.८४ प्रतिशत, हिमालयन लाइफको १४.६६ प्रतिशत, सन नेपाल लाइफको १३.७८ प्रतिशत, सिटिजन लाइफको १०.५९ प्रतिशत र मेट लाइफको ८.६० प्रतिशतले बढेको छ। एलआईसी नेपालको ७.९० प्रतिशत र नेपाल लाइफको ७.७३ प्रतिशतले वृद्धि भएको छ। समग्रमा जीवन बीमा कम्पनीहरूको नवीकरण बीमाशुल्क संकलनमा सकारात्मक सुधार देखाएको छ। नयाँ बीमालेख बिक्रीबाट प्राप्त हुने प्रथम बीमाशुल्कसँगै पुराना बीमालेखको निरन्तरता कायम राखेर संकलन हुने नवीकरण बीमाशुल्क जीवन कम्पनीहरूको महत्वपूर्ण आम्दानी हो।











