पार्टी सभापतिले संसदबाट गरेको आग्रहलाई अटेर गर्दै भ्रष्ट र सेटिङका नियुक्तिधारी

काठमाडौं । गत चैत्र १८ गतेको पहिलो संसद बैठकबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यसअघिका सरकारहरुले सेटिङको भरमा नियुक्त गरेका दर्जनौं कांग्रेस एमाले र माओवादी समर्थकहरुलाई स्वतः स्फूर्त राजिनामा दिन भनेको पनि आज चार दिन बितिसकेको छ । तर, त्यसरी नियुक्ती खाएका कुनै पनि सेटिङवालाहरुले यो समाचार तयार पार्दासम्म राजिनामा दिएको तथ्य बाहिर आएको छैन ।
छ वटा प्रदेश प्रमुखहरु (एक वटा सुशिला कार्कीको पालामा नियुक्ती गरिएको), नेपाल आयल निगमका प्रबन्ध निर्देशक, नेपाल दुर सञ्चार प्राधिकरणका अध्यक्ष देखि नेपाल विद्युत प्राधिरकणमा सार्वजनिक नियुक्ती लिएका व्यक्तिहरुले रास्वपाको सफ्ट आग्रहलाई वेवास्ता गर्दै आएका छन् । नेपाल आयल निगम सबैभन्दा धेरै मालदार ठाउँ हो । त्यहाँ चण्डिका प्रसाद भट्टले करोडौं रुपैयाँ कमाउँदै आएका छन् । त्यस्तै, विद्युत प्राधिकरणमा ठूलो आर्थिक चलेखेल हुने गर्दछ । नेपाल दुर सञ्चार प्राधिकरण एनसेलको कर छली काण्ड, वल्र्ड लिङ्कको कर छली काण्ड इत्यादिमा सेटिङ गर्दा करोडौं माल हात पर्ने गर्दछ । आयल निगममा नेपाली कांग्रेसका भेटेरान नेता भट्ट छन् भने विद्युत प्राधिकरणमा केपी ओलीकै भित्रिया शाक्य प्रमुख छन् । उता, नेपाल दुर सञ्चार प्राधिकरणमा माओवादीका दामोदर भण्डारी कार्यकारी अध्यक्ष छन् ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल नेपाली कांग्रेसकी नेतृ आरजु राणाकी भित्रिया मानिन्छन् । २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका उम्मेदवार बनेका व्यक्ति हुन् । राष्ट्र बैंक ऐनमा राजनीतिक पार्टीको व्यक्तिलाई गभर्नर बन्न निधेष गरेको भएपनि केपी ओली र आरजुसँग सेटिङ हानेर पौडेल गभर्नर बनेका थिए ।
उल्लेखित बाहेक पनि दर्जनौं बढि कांग्रेस एमालेले नियुक्ती गरेका उच्च पदस्थ सार्वजनिक निकायको पदबाट राजिनामा गर्न आनाकानी गरिरहेका छन् । त्यसरी राजिनामा नगर्नेहरुमा नेपाल स्टक एक्सचेन्ज, राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक, राष्ट्रिय बाणिज्य बैंकका सिईओ तथा अध्यक्षहरु रहेका छन् । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीका सिईओ सुरेन्द्र थापा, राष्ट्रिय जीवन बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनीका सिईओहरु रहेका छन् ।
सार्वजनिक निकायको रुपमा राज्यबाट प्राप्त हुने सेवा सुविधा र नियामकीय क्षेत्रमा भ्रष्टाचार गर्न पाउने भएकोले करोडौं रुपैयाँ घुस लेनदेन गरी नियुक्ती भएका थिए । सबैभन्दा विवादित तीन वटा निकायका प्रमुखहरुले आफ्नो लगानी नउठेको भन्दै राजिनामा गर्न आनाकानी गरिरहेका छन् ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल सबैभन्दा विवादित पात्र हुन् । गभर्नर पौडेलले तत्कालिन प्रधानमन्त्री केपी ओलीबाट नियुक्ती हुनुभन्दा पहिले आफै गभर्नर छनौट समितिमा बसेर नयाँ गभर्नरको उम्मेदवार खोजी गरिरहेका थिए । तर, पछि सेटिङ हानेर आफैले गभर्नरको नियुक्ती लिएका थिए । भ्रष्टाचार र सेटिङको निर्वस्त्र र नाङ्गो नाच नाच प्रदर्शन गरेका डा. पौडेलले समेत राष्ट्रिय स्वतन्त्र पार्टीलाई टेरेका छैनन् । उनको नियुक्ती समेत गैर कानुनी रहेको छ । सरकारले चाहेको खण्डमा छानविनबाट समेत हटाउन सक्ने अवस्था भएका भ्रष्टाचार र सेटिङका पात्रले समेत नटेरेपछि संसदबाट पार्टी सभापति रवि लामिछानेले दिएको निर्देशन के हुन्छ ? प्रश्न उठ्न थालेको छ । साथै पार्टी सभापतिको निर्देशन कसरी कार्यान्वयनमा ल्याउने सरकारलाई चुनौति थपिएको छ ।











