लेखापढी व्यवसायीको पेनडाउनले मालपोत सेवा प्रभावित

२५ चैत्र २०८२, बुधबार १३:४३

काठमाडौँ । नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशन पाटन इकाई समितिले आफ्ना व्यवसायीमाथि प्रहरीले गरेको धरपकड र पक्राउप्रति कडा आपत्ति जनाउँदै अनिश्चितकालीन पेनडाउन आन्दोलन घोषणा गरेको छ।

समितिले सोमबार जारी गरेको विज्ञप्तिमा भूमि सुधार तथा मालपोत कार्यालय, ललितपुर मा कार्यरत लेखापढी व्यवसायी र भू–सेवा केन्द्र सञ्चालकलाई पर्याप्त आधारबिना ‘बिचौलिया’को संज्ञा दिँदै पक्राउ गरिएको घटनाप्रति खेद व्यक्त गरेको छ। समितिले यस्ता गतिविधिले व्यवसायीहरूको सम्मान र पेशागत सुरक्षामा गम्भीर असर परेको जनाएको छ।

यसैबीच, सरकारले बिचौलियाको आरोपमा लेखापढी व्यवसायीमाथि धरपकड थालेको विरोधमा सुरु गरिएको पेनडाउन आन्दोलनका कारण मोरङमा सेवा प्रभावित भएको छ। विराटनगर स्थित मालपोत र नापी कार्यालयमा मंगलबार सेवा लगभग ठप्पजस्तै बनेको हो।

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन मोरङ को आह्वानमा लेखापढी व्यवसायीहरूले भू–सेवा बन्द गरेपछि मालपोत र नापी कार्यालयमा चहलपहल न्यून देखिएको थियो। सेवाग्राहीको उपस्थिति पनि पातलो देखिएको छ।

विराटनगरमा २८ वटा भू–सेवाप्रदायक अनुमतिप्राप्त लेखापढी व्यवसायी र पाँचवटा भू–सेवा मात्र प्रदान गर्ने फाराम गरी कुल ३३ वटा आधिकारिक युनिट सञ्चालनमा रहेका छन्। सबैले सेवा रोकेपछि जग्गा किनबेच, नामसारी, रोक्का तथा फुकुवालगायत मालपोतसम्बन्धी मुख्य प्रशासनिक कार्य प्रभावित भएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*