१५ लाख नगदबाट सुरु अनुसन्धानले खुल्यो १ अर्ब ३६ करोडको क्रिप्टो जालो, तीन जना पक्राउ

काठमाडौं । १५ लाख ३० हजार रुपैयाँ नगदसहित पक्राउ परेका एक व्यक्तिमाथि गरिएको अनुसन्धानले झण्डै १ अर्ब ३६ करोड रुपैयाँ बराबरको क्रिप्टो कारोबारसम्बन्धी ठूलो नेटवर्क फेला परेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रारम्भिक अनुसन्धानका क्रममा यो गिरोहको संरचना र कारोबारको दायरा खुलेको हो।
गत चैत ६ गते सामाखुसी क्षेत्रबाट नेपालगञ्ज–२० का ३१ वर्षीय नरेश रेउले पक्राउ परेका थिए। क्रिप्टो कारोबारमा संलग्न व्यक्तिहरूबीच सम्पर्क गराउने र त्यसबापत कमिसन लिने गरेको सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। सोही सूचनाका आधारमा थप अनुसन्धान अघि बढाइएको थियो।
रेउलेसँगको सोधपुछका क्रममा प्रहरीले ललितपुर नख्खु बस्ने ३२ वर्षीया दिप्ती पोखरेलसम्मको सम्बन्ध फेला पारेको थियो। उनले भारतका बसिर इकबालसँग समन्वय गरी अमेरिकी डलर सटही गर्ने काममा संलग्नता रहेको खुलेको प्रहरीको भनाइ छ। त्यसपछि दिप्तीलाई १५ लाख ३० हजार रुपैयाँ नगदसहित सामाखुसी क्षेत्रबाट पक्राउ गरिएको थियो भने लगत्तै इकबाललाई ललितपुर एकान्तकुनाबाट नियन्त्रणमा लिइएको थियो।
अनुसन्धानमा इकबालले आफ्नो मोबाइलमार्फत बिनान्स नामक क्रिप्टो प्लेटफर्म प्रयोग गरी यूएसडीमार्फत ठूलो मात्रामा कारोबार गरेको देखिएको छ। उनको खाताको विवरण विश्लेषण गर्दा करिब १ अर्ब ३६ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको तथ्य भेटिएको अनुसन्धान अधिकृतहरूले बताएका छन्। इकबाल लामो समयदेखि नेपालमा बस्दै आएको र ‘अली बाबा सर्भिसेस’ नामक कम्पनी सञ्चालन गर्दै आएको पनि खुलेको छ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये तीनै जनाको मिलेमतोमा अवैध क्रिप्टो तथा हुण्डी कारोबार भएको देखिएको छ। यस प्रकरणमा अन्य व्यक्तिको संलग्नता पनि रहेको आशंका गरिएको छ। जिल्ला अदालत काठमाडौंमा उनीहरूविरुद्ध अभौतिक मुद्रा र हुण्डीसम्बन्धी कसुरमा मुद्दा दायर भई सुनुवाइ प्रक्रिया अघि बढिरहेको छ।











