निर्जीवन बीमा व्यवसाय २२.८२ प्रतिशतले बढ्योः सलिको र शिखर अग्रस्थानमा, एनएलजी र हिमालयनको उच्च वृद्धि

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा निर्जीवन बीमा व्यवसाय २२.८२ प्रतिशतले बढेको छ। गत आवको असोज मसान्तसम्म १२ अर्ब ६५ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन भएकोमा चालू आवको सोही अवधिमा १५ अर्ब ५४ करोड ५१ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको हो।
सलिकोको कुल बीमाशुल्क गत वर्षको असोज मसान्तसम्म १ अर्ब ४९ करोड ८३ लाख रुपैयाँ रहेकोमा चालू आवको सोही अवधिमा २२.५० प्रतिशतले बढेर १ अर्ब ८३ करोड ५३ लाख रुपैयाँ पुगेको छ। त्यस्तै शिखर इन्स्योरेन्सको कुल बीमाशुल्क पनि १ अर्ब ३८ करोड ४६ लाख रुपैयाँबाट २९.५४ प्रतिशतले बढेर १ अर्ब ७९ करोड ३६ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै हिमालयन एभरेष्टले गत आवमा १ अर्ब १९ करोड ६६ लाख रुपैयाँ संकलन गरेकोमा चालू आवमा ३४.५४ प्रतिशतको वृद्धि सहित १ अर्ब ६० करोड ९९ लाख रुपैयाँ संकलन गर्न सफल भएको छ। यता एनएलजी इन्स्योरेन्सले पनि १ अर्ब २ करोड ५६ लाख रुपैयाँबाट सर्वाधिक ४५.४६ प्रतिशतको वृद्धि हासिल गर्दै १ अर्ब ४९ करोड १८ लाख रुपैयाँ प्रिमियम भित्र्याएको छ।
त्यसैगरी आईजीआई प्रुडेन्सियलले पनि गत आवको तुलनामा ३४.२९ प्रतिशतको वृद्धि हासिल गर्दै १ अर्ब ३३ करोड ४ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ अघिल्लो वर्ष यस कम्पनीले जम्मा ९९ करोड ६ लाख रुपैयाँ प्रिमियम संकलन गरेको थियो। यता सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ७.७७ प्रतिशतको वृद्धि सहित १ अर्ब ३१ करोड ९५ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ यस कम्पनीले गत आवमा १ अर्ब २२ करोड ४३ लाख रुपैयाँ प्रिमियम उठाएको थियो।

यता सिद्धार्थ नेको इन्स्योरेन्सको कुल बीमाशुल्क ९२ करोड ८३ लाख रुपैयाँबाट २४.७५ प्रतिशतले बढेर १ अर्ब १५ करोड ८१ लाख रुपैयाँ पुगेको छ भने दि ओरियण्टल इन्स्योरेन्सको ७८ करोड ८५ लाख रुपैयाँबाट २४.६० प्रतिशतले बढेर ९८ करोड २४ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी यूनाइटेड अजोडले पनि ८८ करोड २९ लाख रुपैयाँबाट ८.९६ प्रतिशतको वृद्धि गर्दै ९६ करोड २० लाख प्रिमियम उठाएको छ।
त्यस्तै कुल बीमाशुल्क संकलन नेपाल इन्स्योरेन्सको ७० करोड ६२ लाख रुपैयाँबाट बढेर ८२ करोड ४१ लाख रुपैयाँ पुग्दा सानिमा जिआईसीको ६८ करोड १८ लाखबाट ७१ करोड ८३ लाख रुपैयाँ पुगेको छ भने प्रभु इन्स्योरेन्सको ५० करोड ५६ लाखबाट ५३ करोड २८ लाख रुपैयाँ पुगको छ। यी तीन कम्पनीको क्रमशः १६.७० प्रतिशत, ५.३६ प्रतिशत र ५.३८ प्रतिशतले बढेको हो।
यता सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको कुल बीमाशुल्क ४१ करोड ४१ लाख रुपैयाँबाट २२.५२ प्रतिशतले बढेर ५० करोड ७४ लाख रुपैयाँ पुग्दा नेशनल इन्स्योरेन्सको कुल बीमाशुल्क संकलन ४२ करोड ८४ लाख रुपैयाँबाट ११.७६ प्रतिशतले बढेर ४७ करोड ८८ लाख रुपैयाँ पुगेको तथ्यांकले देखाएको छ।











