चाडपर्वमा सुरक्षा व्यवस्था मजबुत बनाउन सुरक्षा निकायलाई बालेनको निर्देशन

१९ कार्तिक २०८३, बिहीबार १५:४७

काठमाडौं । बालेन्द्र शाह (बालेन) ले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी लिएका छन्। उनले चाडपर्वका बेला नागरिकको सुरक्षा र देशको समग्र शान्ति–सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका हुन्।

शाहले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर सुरक्षा अवस्थाबारे ब्रिफिङ लिएका थिए।

सो क्रममा उनले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्। देशको सुरक्षा व्यवस्था मजबुत बनाउन तीनवटै सुरक्षा निकायबीच आवश्यक सहकार्य र समन्वय हुनुपर्नेमा उनले जोड दिएका हुन्।

शाहले नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन सम्बन्धित निकायलाई सचेत गराएका छन्। अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउँदै शान्ति–सुरक्षाको व्यवस्थालाई चुस्त र दुरुस्त बनाउन पनि उनले निर्देशन दिएका छन्।

चाडपर्वका समयमा नागरिकको आवतजावत बढ्ने, बजार तथा सार्वजनिक स्थानमा भीडभाड हुने र विभिन्न आपराधिक गतिविधिको जोखिमसमेत हुन सक्ने भएकाले सुरक्षा व्यवस्थामा विशेष सतर्कता अपनाउनुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*