नेको इन्स्योरेन्सको सहकार्यमा गर्भवती महिला लक्षित स्वास्थ्य शिविर, ५० जनाको सहभागिता

१९ कार्तिक २०८३, बिहीबार १६:५४

काठमाडौं । गर्भवती महिलाको स्वास्थ्य सुरक्षा, सुरक्षित मातृत्व र स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौंमा एकीकृत मातृत्व स्वास्थ्य प्रवद्र्धन शिविर सम्पन्न भएको छ। आमा सुरक्षा नेपालको आयोजना तथा नेको इन्स्योरेन्स लिमिटेडको सहकार्यमा काठमाडौं महानगरपालिका–१९ स्थित सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा शिविर आयोजना गरिएको हो।

शिविरमा करिब ५० जनाको सहभागिता रहेको थियो। सहभागीमध्ये १५ जना गर्भवती महिला थिए भने उनीहरूका परिवारका सदस्य तथा महिला स्वास्थ्य स्वयंसेविकाको पनि उपस्थिति रहेको थियो। शिविरमार्फत गर्भवती महिला र उनीहरूका परिवारलाई गर्भावस्थामा अपनाउनुपर्ने स्वास्थ्य सावधानी, पोषण, मानसिक स्वास्थ्य, सुरक्षित शारीरिक गतिविधि तथा गर्भावस्थामा देखिन सक्ने जोखिमका संकेतबारे जानकारी र विशेषज्ञ परामर्श प्रदान गरिएको थियो।

कार्यक्रममा गर्भावस्थालाई सुरक्षित र सहज बनाउन आवश्यक स्वास्थ्य अभ्यास तथा परिवारको सहयोगको महत्त्वबारे समेत जानकारी दिइएको कम्पनीले जनाएको छ। निकिता संग्रौलाले गर्भावस्थामा गर्न सकिने योग तथा शारीरिक स्वास्थ्यसम्बन्धी सत्र सञ्चालन गरेकी थिइन् भने उनले गर्भवती महिलाले आफ्नो शारीरिक अवस्थाअनुसार सुरक्षित रूपमा गर्न सकिने योग तथा शारीरिक अभ्यासबारे जानकारी दिँदै गर्भावस्थामा परिवारको साथ र सहयोग उत्तिकै महत्त्वपूर्ण हुने बताएकी थिइन्।

त्यस्तै डा. सुष्मा ढकालले मातृ मानसिक स्वास्थ्य, पोषण तथा गर्भावस्थाका जोखिमका संकेतसम्बन्धी प्राविधिक सत्र सञ्चालन गरेकी थिइन् । उनले गर्भावस्थाका क्रममा देखिने असामान्य लक्षणलाई सामान्य ठानेर बेवास्ता गर्न नहुने बताउँदै त्यस्ता संकेत देखिएमा समयमै स्वास्थ्य संस्थामा पुगेर आवश्यक जाँच तथा उपचार गराउनुपर्नेमा जोड दिइन्।

शिविरमा सहभागी गर्भवती महिलाले स्त्रीरोग विशेषज्ञबाट व्यक्तिगत स्वास्थ्य परामर्श प्राप्त गरेका थिए। साथै गर्भमा रहेको शिशुको मुटुको धड्कन जाँच गर्ने सेवा पनि प्रदान गरिएको थियो। यसबाट गर्भवती महिलाले आफ्नो स्वास्थ्य अवस्था र गर्भमा रहेको शिशुको अवस्थाबारे आवश्यक जानकारी लिन पाएका थिए।

कार्यक्रममा सहभागी गर्भवती महिलालाई गर्भावस्थामा आवश्यक पर्ने सामग्री समावेश गरिएको मातृत्व किट तथा मातृत्व पहिचान ब्याजसमेत वितरण गरिएको थियो। स्वास्थ्य परामर्शसँगै आवश्यक सामग्री उपलब्ध गराइएकाले गर्भवती महिलालाई गर्भावस्थामा आवश्यक सावधानी र हेरचाह अपनाउन थप सहयोग पुग्ने अपेक्षा कम्पनीले व्यक्त गरेको छ।

शिविरमा गर्भवती महिलाको स्वास्थ्य र सुरक्षित मातृत्वका लागि परिवारको भूमिकालाई पनि विशेष प्राथमिकता दिइएको थियो। गर्भावस्थाका बेला महिलाले शारीरिक मात्र नभई मानसिक र भावनात्मक सहयोगसमेत पाउनुपर्ने विषयमा सहभागीलाई जानकारी गराइएको थियो। विशेषगरी श्रीमान् तथा परिवारका अन्य सदस्यले गर्भवती महिलाको खानपान, आराम, नियमित स्वास्थ्य परीक्षण र आवश्यक उपचारमा ध्यान दिनुपर्ने बताइएको थियो। स्वास्थ्य समस्या देखिँदा समयमै स्वास्थ्य संस्थासम्म पुग्न सहयोग गर्नु परिवारको महत्त्वपूर्ण जिम्मेवारी भएको विषयसमेत उठाइएको थियो।

नेको इन्सुरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य तथा समुदाय केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिँदै आएको जनाएको छ। मातृ स्वास्थ्यलाई केन्द्रमा राखेर गरिएको यस सहकार्यले गर्भवती महिला र उनीहरूका परिवारमा स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि गर्नुका साथै समयमै आवश्यक स्वास्थ्य सेवा लिन प्रोत्साहित गर्ने अपेक्षा कम्पनीले गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*