व्यवसायी महासंघको अर्थमन्त्रीसँग भेट, साना व्यवसायीका समस्या समाधान र सहज कर्जाको माग

३ बैशाख २०८३, बिहीबार १३:५९

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उद्योगी–व्यवसायीका समस्याप्रति ध्यानाकर्षण गराएको छ । महासंघले बैंक तथा वित्तीय क्षेत्रमा रहेको तरलता साना व्यवसायीसम्म पुग्ने व्यवस्था गर्न माग गरेको छ । विशेषगरी तीन प्रतिशत ब्याजदरमा बिना धितो कर्जा उपलब्ध गराउने नीति ल्याउनुपर्ने सुझाव अर्थमन्त्रीसमक्ष प्रस्तुत गरिएको महासंघले जनाएको छ ।

साथै, भन्सार नाकामा तयारी मालवस्तु आयात गर्दा हुने झन्झटिलो प्रक्रिया तथा दररेटसम्बन्धी समस्याले आयात–निर्यात प्रभावित भएको भन्दै त्यसलाई सहज र सरल बनाउनुपर्ने विषयमा पनि ध्यानाकर्षण गराइएको हो ।

महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले हाल देशको व्यापार–व्यवसाय अत्यन्त नाजुक अवस्थामा रहेको जानकारी अर्थमन्त्रीलाई गराइएको बताए । उनका अनुसार वर्तमान अवस्थामा व्यवसायिक गतिविधि उत्साहजनक छैनन् र तत्काल ठूलो सुधार आउने स्थिति पनि देखिँदैन यद्यपि नयाँ सरकार बनेपछि व्यवसायीमा आशाको वातावरण भने बनेको छ ।

कटुवालले समग्र व्यापारिक अवस्था कमजोर भए पनि सामान्य जीविकोपार्जनका लागि मात्र व्यवसाय सञ्चालन भइरहेको उल्लेख गरे । उनले देशभरका व्यवसायीलाई लामो समयदेखि खड्किँदै आएको एमआरपी (अधिकतम खुद्रा मूल्य) सम्बन्धी समस्या पनि अर्थमन्त्रीसमक्ष उठाइएको जानकारी दिए ।

त्यस्तै, हाल मौज्दात रहेका स्टक तथा उत्पादित वस्तुमा उपभोक्तामैत्री ढंगले एमआरपी व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि महासंघले सुझाव दिएको छ । स्थानीय सरकारलाई सुम्पिएको घरभाडा नीतिमा स्पष्टता नहुँदा समस्या बढेको भन्दै सहर र गाउँको वर्गीकरण गरी ‘स्क्वायर फिट’का आधारमा वैज्ञानिक घरभाडा प्रणाली लागू गर्नुपर्ने प्रस्ताव पनि अर्थमन्त्रीलाई गरिएको छ ।

महासंघले पञ्चायतकालदेखि नै सीमित संगठनहरूको मात्र अर्थतन्त्रसम्बन्धी सुझाव समितिमा वर्चस्व रहँदै आएको भन्दै अब साना व्यवसायीका संस्थाहरूलाई पनि समावेश गर्नुपर्ने माग गरेको छ । यसमा अर्थमन्त्री वाग्लेले अबदेखि सबै सरोकारवालालाई समेटेर अघि बढ्ने प्रतिक्रिया दिएका महासंघले जनाएको छ ।

अर्थमन्त्री वाग्लेले आगामी बजेटमार्फत साना तथा मझौला उद्योगी–व्यवसायीका समस्या सम्बोधन गर्दै व्यवसाय सञ्चालनका लागि सहज वातावरण निर्माण गर्ने आश्वासन दिएको पनि महासंघका संस्थापक अध्यक्ष कटुवालले जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*