डिजिटल सेवाबाट घरदैलोमै सरकार: अर्थमन्त्री वाग्लेको आर्थिक सुधार र रूपान्तरणको स्पष्ट रोडम्याप

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार सेवा प्रवाह सुधार र आर्थिक सुधारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको बताएका छन्। बिहीवार अर्थ मन्त्रालयमा आयोजित अन्तरसरकारी वित्त परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले नागरिकलाई सहज सेवा दिन डिजिटल माध्यमलाई प्राथमिकता दिइएको उल्लेख गरे।
उनका अनुसार सरकार सेवा प्रवाहमा केन्द्रित छ र डिजिटल माध्यममार्फत सेवा प्रदान गर्ने कार्यलाई तीव्रता दिइएको छ। आवश्यक परेका अवस्थामा राज्य संयन्त्रलाई नै चलायमान बनाएर घरदैलोमै सेवा पुर्याउने प्रयास भइरहेको उनले बताए। सेवामुखी भावनासहित शासन प्रणाली सुधारतर्फ सरकार सक्रिय रहेको उल्लेख गर्दै उनले म्याक्रो तहका नीतिगत सुधार र माइक्रो तहमा सेवा प्रवाह सुधारलाई समान रूपमा अघि बढाइएको स्पष्ट पारे।
अर्थमन्त्री वाग्लेले सरकारको अर्को प्रमुख प्राथमिकता आर्थिक सुधार भएको बताउँदै सबै क्षेत्रमा रूपान्तरणको अभियान सञ्चालन भइरहेको जानकारी दिए। उनका अनुसार सरकार पछाडि हट्ने होइन, कसरी अघि बढ्ने, कसरी सुधार गर्ने, बिग्रिएको अवस्थामा कसरी पुनः निर्माण गर्ने र आवश्यक परे छलाङ मार्ने दिशामा केन्द्रित भएर काम गरिरहेको छ।
पर्यटन, निर्माण, कृषि, सिंचाइ र ऊर्जा लगायतका क्षेत्रमा समग्र सुधार र विकासका लागि योजनाबद्ध रूपमा काम भइरहेको उनले बताए। पदभार सम्हालेपछि पहिलो दिनमै राजस्व अनुसन्धान विभाग खारेज गरिएको भए पनि त्यसका मुख्य कार्यहरू अन्य निकायमार्फत निरन्तर सञ्चालनमा रहेको उनको भनाइ छ।
कानुनी सुधारतर्फ पनि सरकार सक्रिय रहेको जनाउँदै उनले पुराना ऐनहरू खारेज गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए। २०१३, २०१७, २०२१ सालका ऐनहरू तथा २०१८ सालको बिस्फोटक ऐनसहित १५ वटा ऐन खारेजी प्रक्रियामा रहेको उनले बताए। साथै अन्य दर्जनौँ ऐनहरूलाई बजेटमार्फत संशोधन वा खारेज गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए।
आर्थिक सुधारलाई तीव्रता दिन आवश्यक परे अध्यादेश वा बजेटमार्फत ठूला संरचनात्मक परिवर्तन ल्याउने योजना रहेको स्पष्ट पार्दै उनले सेवा प्रवाहदेखि नीतिगत सुधारसम्म व्यापक परिवर्तनमार्फत समग्र अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यसहित सरकार अघि बढिरहेको बताए।











