राष्ट्र बैंकले १०० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने, आजै बोलकबोल

काठमाडौं । नेपाल राष्ट्र बैंकले १०० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। मौद्रिक व्यवस्थापन विभागले ५६ दिनका लागि उक्त निक्षेप संकलन उपकरण जारी गर्न लागिएको जानकारी दिएको हो।
राष्ट्र बैंकका अनुसार वैशाख ४ गते दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिनेछ। सोही दिन निष्काशन पनि गरिनेछ भने साँवा तथा ब्याज भुक्तानी जेठ २९ गते गरिनेछ।
यस निक्षेप संकलनमा ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। सहभागी बैंक तथा वित्तीय संस्थाले आफूले राख्न चाहेको रकम र ब्याजदर उल्लेख गरी प्रस्ताव पेश गर्नु पर्नेछ। कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकतामा राखी रकम बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।
यसमा घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोडले भाग जाने गरी अधिकतम आह्वान गरिएको कुल रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। यो बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।
राष्ट्र बैंकले संकलन गर्ने यो निक्षेप रकम अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिनेछ। तर यसलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइने छैन भने तरलता अनुपातमा भने गणना गर्न मिल्ने व्यवस्था गरिएको छ।
64.-DC_Notice-2083.01.04










