९ महिनामा ६ खर्ब निक्षेप भित्रिंदा २ खर्ब ७६ अर्ब कर्जा प्रवाह, कुन बैंकको व्यवसाय कस्तो ? (तथ्याङ्कसहित)

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमास (साउनदेखि चैत) सम्ममा वाणिज्य बैंकको निक्षेप ६ खर्ब रुपैयाँले बढ्दा कर्जा प्रवाह पौने ३ अर्ब रुपैयाँले वृद्धि भएको छ ।
नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकको निक्षेप ५ खर्ब ९७ अर्ब १७ करोड रुपैयाँले बढेर ७१ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा कर्जा भने २ खर्ब ७६ अर्ब ३९ करोड रुपैयाँले बढेर ४९ खर्ब ७४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।
निक्षेप कुनको कति ?
गत असार मसान्तमा ६५ खर्ब ३० अर्ब ७९ करोड रुपैयाँ रहेको वाणिज्य बैंकहरूको कुल निक्षेप चैत मसान्तमा आउँदा ९.१५ प्रतिशतले बढेर ७१ खर्ब २७ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ ।
सर्वाधिक निक्षेप संकलन गर्नेमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको छ । कम्पनीको निक्षेप ८० अर्ब रुपैयाँले बढेर ६ खर्ब ५५ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोहि अवधिमा कम्पनीको निक्षेप ५ खर्ब ९३ अर्ब रुपैयाँ रहेको थियो ।
दोस्रो स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंकको निक्षेप संकलन ९८ अर्ब रुपैयाँले बढेर ५ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो आवको असार मसान्तसम्ममा भने बैंकको निक्षेप संकलन ४ खर्ब ९३ अर्ब रुपैयाँ रहेको थियो ।
यता, नबिल बैंकको निक्षेप असार मसान्तसम्मको तुलनामा ५६ अर्बले बढेर ५ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघको तथ्याङले देखाएको हो ।
असारको तुलनामा चैतमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको निक्षेप ५२ अर्बले बढेर ५ खर्ब २९ अर्ब, लक्ष्मी सनराइज बैंकको ३६ अर्बले बढेर ४ खर्ब ८ अर्ब, कुमारी बैंकको ११ अर्बले बढेर ३ खर्ब ९० करोड, नेपाल बैंकको ५२ अर्बले बढेर ३ खर्ब ८६ अर्ब र हिमालयन बैंकको ३१ अर्बले बढेर ३ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ ।

यसअवधिमा प्रभु बैंकको निक्षेप मात्रै ७ अर्ब रुपैयाँले घटेर ३ खर्ब ४० अर्ब रुपैयाँमा सीमित भएको छ ।
कर्जा प्रवाह कस्को कति ?
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह २ खर्ब ७६ अर्ब रुपैयाँले बढेर ५२ खर्ब ५० अर्ब रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा ४९ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा प्रवाह रहेको हो ।
कर्जा प्रवाहमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको छ । बैंकको कर्जा प्रवाह ३५ अर्ब रुपैयाँले बढेर ४ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा भने ४ खर्ब ४० अर्बको कर्जा प्रवाह गरेको थियो ।
दोस्रो नम्बरमा रहेको नबिल बैंकले ४ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्मको तुलनामा बैंकको कर्जा प्रवाह ३८ अर्बले बढी हो ।
यता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कर्जा प्रवाह ५ अर्बले बढेर ३ खर्ब ६१ अर्ब र राष्ट्रिय वाणिज्य बैंकको ३० अर्बले बढेर ३ खर्ब ३९ अर्ब रहेको छ ।
यता, लक्ष्मी सनराइज बैंकको २४ खर्बले बढेर ३ खर्ब १४ अर्ब, एभरेष्ट बैंकको १२ अर्बले बढेर २ खर्ब ६१ अर्ब, एनएमबि बैंकको १८ अर्बले बढेर २ खर्ब ६१ अर्ब र हिमालयन बैंकको ५ अर्बले बढेर २ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

समिक्षा अवधिसम्ममा आइपुग्दा प्रभु बैंकको ४अर्ब, एनआईसी एशिया बैंकको १९ अर्ब र स्टान्र्डड चार्टड बैंकको १० अर्बले कर्जा प्रवाह घटेको छ ।











