नौ महिनामा ४१ अर्बभन्दा बढी विदेशी लगानी प्रतिबद्धता, ६१५ परियोजनामा २२ हजारले रोजगारी पाउने

४ बैशाख २०८३, शुक्रबार १३:०८

काठमाडौँ ।  पछिल्लो समय मुलुकभित्र वैदेशिक लगानी प्रतिबद्धता उल्लेखनीय रूपमा बढेको छ। उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा मात्रै ४१ अर्ब रुपैयाँभन्दा बढी बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ।

साउनदेखि चैत मसान्तसम्मको अवधिमा कुल ६१५ परियोजनाका लागि ४१ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। यसबाट २२ हजार ३१६ जनालाई रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ।

विभागका अनुसार चैत महिनामा मात्र ६१ वटा परियोजनाका लागि १ अर्ब १२ करोड ९२ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ।

क्षेत्रगत आधारमा हेर्दा कृषिमूलक क्षेत्रमा सबैभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता आएको छ। चैत मसान्तसम्म यस क्षेत्रमा १६ परियोजनामार्फत २२ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको लगानी भित्रिएको विभागले जनाएको छ।

पर्यटन उद्योग क्षेत्रमा १६४ परियोजनाका लागि ११ अर्ब ४६ करोड २० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ। यस्तै सेवामूलक क्षेत्रमा ४७ परियोजनामार्फत ३ अर्ब ८९ करोड ६४ लाख रुपैयाँ, उत्पादनमूलक (औद्योगिक) क्षेत्रमा ३८ परियोजनामार्फत २ अर्ब ५४ करोड ५६ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ।

सूचना तथा प्रविधि (आईटी) क्षेत्रमा ३४६ परियोजनाका लागि १ अर्ब ४५ करोड ७२ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ। त्यस्तै ऊर्जा क्षेत्रमा दुई परियोजनामार्फत २३ करोड ४२ लाख ५० हजार रुपैयाँ र खनिज क्षेत्रमा दुई परियोजनामार्फत ११ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*