वैदेशिक रोजगारीको प्रलोभनमा पारी ठगी, चार जना पक्राउ

४ बैशाख २०८३, शुक्रबार १४:०८

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ बस्ने रौतहटका २९ वर्षीय अनन्त कोईराला, गोकर्णेश्वर नगरपालिका–५ बस्ने इलामका ४७ वर्षीय जगतबहादुर खड्का, काठमाडौं महानगरपालिका–२६ बस्ने तारकेश्वरका ५४ वर्षीय ज्ञानु श्रेष्ठ र भक्तपुर नगरपालिका–१५ बस्ने रामेछापका २२ वर्षीय विकास श्रेष्ठ रहेका छन्।

प्रहरीका अनुसार अनन्तले फिनल्याण्ड पठाइदिने भन्दै एक जनाबाट ३१ लाख १५ हजार ८७ रुपैयाँ ठगी गरेका छन्। जगतले कतार पठाइदिने भन्दै १ लाख ३९ हजार रुपैयाँ, ज्ञानुले युएई पठाइदिने भन्दै ३ लाख रुपैयाँ र विकासले साइप्रस पठाइदिने भन्दै ९ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए।

पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो। जगतलाई काठमाडौं महानगरपालिका–३ बाट बुधबार पक्राउ गरिएको थियो भने अनन्तलाई काठमाडौं महानगरपालिका–२९, ज्ञानुलाई काठमाडौं महानगरपालिका–२६ र विकासलाई भक्तपुर नगरपालिका–१० बाट बिहीबार पक्राउ गरिएको हो।

पक्राउ परेका अनन्तलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने अन्य तीन जना जगत, ज्ञानु र विकासलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*