भरत खड्का सार्वजनिक लेखा समिति सभापतिमा निर्विरोध चयन

काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापतिमा नेपाली कांग्रेसका सांसद भरत खड्का निर्विरोध चयन भएका छन् । उम्मेदवारी दर्ताका क्रममा उनको मात्रै नाम परेपछि प्रक्रिया औपचारिकतामा सीमित भएको हो ।
शुक्रबार बसेको बैठकले खड्का निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । सभापति चयनका लागि बिहीबार तोकिएको समयभित्र अन्य कुनै पनि उम्मेदवारी नपरेपछि उनी स्वतः सभापति बनेका हुन् ।
सभापति चयनमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले प्रमुख प्रतिपक्षी कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेपछि खड्काको पक्षमा आवश्यक सहमति बनेको थियो । समितिमा रास्वपाको बहुमत तथा अन्य विपक्षी दलहरूको समर्थनसमेत रहेकाले प्रतिस्पर्धा नभएको बताइएको छ ।
डोटीबाट प्रतिनिधिसभामा निर्वाचित खड्का लामो राजनीतिक अनुभव भएका नेता हुन् । २०१४ सालमा डोटीको पूर्वीचौकी गाउँपालिका–१ मा जन्मिएका उनले २०३२ सालमा नेविसंघमार्फत राजनीतिक यात्रा सुरु गरेका थिए ।
२०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा सक्रिय रहेका खड्का २०३९ सालमा गाउँ पञ्चायत प्रमुख बनेका थिए । त्यसपछि २०४४ सालमा जिल्ला पञ्चायत सभापति भएका उनी बहुदल पुनःस्थापनापछि कांग्रेस राजनीतिमा सक्रिय रहे ।
२०४९ सालमा जिल्ला विकास समिति डोटीको उपसभापति र २०५४ सालमा सभापति निर्वाचित भएका खड्का गणतन्त्रपछि पनि विभिन्न भूमिकामा सक्रिय रहे । २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिकबाट सांसद बनेका उनी २०७४ सालमा प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा डोटी–१ बाट विजयी भएका खड्काले करिब १४ हजार ८ सय मत प्राप्त गरेका थिए ।











