सुस्त पुँजी बजारः कारोबार रकम खुम्चियो, किन त्रसित छन् लगानीकर्ता ?

४ बैशाख २०८३, शुक्रबार १५:०५

काठमाडौँ । शेयर बजार आज पनि सुस्त देखिएको छ । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग मार्फत निजी क्षेत्रका व्यावसायिक गतिविधिहरूमा समेत सुशासन र पारदर्शिता सुनिश्चित गर्न छानबिन तथा नियमनको दायरा विस्तार गर्ने तयारी सार्वजनिक गरेपछि बजारमा अनिश्चितता बढेको हो । यसैबीच बजार खुलेसँगै लगानीकर्तामा देखिएको त्रास र अन्योलका कारण सूचकहरू राताम्य बनेका छन् ।

निजी क्षेत्रको कारोबारमाथि नियामक निकायको निगरानी थप कडा हुन सक्ने आशंकाले छोटो अवधिका लगानीकर्ताहरूमा बिक्री चाप बढ्दा बजारमा तीव्र गिरावट देखिएको छ। दिनभरजसो बिक्री दबाब हाबी हुँदा कारोबार सूचक निरन्तर ओरालो लागेको र अधिकांश समूहगत सूचकहरू पनि दबाबमा परेको देखिएको छ।

यद्यपि बजार विश्लेषकहरू भने समग्र आर्थिक आधारभूत पक्षहरू अझै सकारात्मक रहेको बताउँछन्। स्थिर सरकारको अपेक्षा, बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा आएको गिरावट तथा अर्थतन्त्रका प्रमुख सूचकहरूमा देखिएको सुधारले दीर्घकालीन रूपमा बजारलाई मजबुत आधार प्रदान गरिरहेको उनीहरूको मूल्यांकन छ।

तर नीतिगत परिवर्तन र नियामक निकायका नयाँ रणनीतिबारे स्पष्टता नआएसम्म बजारमा अस्थिरता कायम रहन सक्ने अनुमान गरिएको छ। लगानीकर्ताहरूले सरकार तथा सम्बन्धित निकायबाट स्पष्ट, स्थिर र भरोसायोग्य नीतिगत संकेतको प्रतीक्षा गरिरहेका छन्, जसपछि मात्र बजार पुनः सुधारको बाटोमा फर्किन सक्ने विश्लेषण गरिएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३६ अकंले बढेर २८३८.४० बिन्दुमा कायम भएको छ । ३३५ कम्पनीको १ करोड ८० लाख ६३ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड ६ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ८ उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको ०.२७ प्रतिशत, विकास बैंक समूहको ०.३८ प्रतिशत, फाइनान्स समूहको ०.३४ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.१६ प्रतिशतले शेयर मूल्य घटेको छ ।

शुक्रबार १०८ कम्पनीको शेयर मूल्य बढेको छ भने १५० कम्पनीको घटेको छ । १२ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*