फुटपाथमै पार्किङ गरेको प्रहरीको भ्यानलाई ट्राफिकको चिट
४ बैशाख २०८३, शुक्रबार १८:१७

काठमाडौँ । ट्राफिक नियम उल्लंघन गर्दै फुटपाथमा पार्किङ गरिएको नेपाल प्रहरीकै भ्यानलाई ट्राफिक प्रहरीले चिट काटेको छ। नियम उल्लंघन गरी फुटपाथमा सवारी साधन पार्किङ गरेको पाइएपछि ट्राफिक प्रहरीले आवश्यक कारबाहीस्वरूप चिट काटेको हो।
यस घटनाबारे नेपाल प्रहरीले पनि आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जानकारी सार्वजनिक गरेको छ।
प्रहरीकै भ्यान फुटपाथमा पार्किङ गरिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उक्त पोस्ट व्यापक रूपमा भाइरल बनेको थियो। सामाजिक सञ्जालमा आलोचना बढेपछि ट्राफिक प्रहरीले सम्बन्धित भ्यानको पहिचान गरी ट्राफिक नियम उल्लंघन गरेको ठहर गर्दै चिट काटेको हो।
घटनापछि ट्राफिक प्रहरीले सबै सवारी साधनलाई नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।











