कामना सेवा विकास बैंकले ९ महीनामा कमायो ५८ करोड नाफा, अन्य सूचक कस्ता?

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चालू आवको ९ महीनामा ५८ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको ९ महीनासम्म ४९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकको यस वर्ष १९.३७ प्रतिशतले वृद्धि भएको हो।
त्यसैगरी गत आवको चैत मसान्तसम्म १ अर्ब ६६ करोड ४२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालू आवको चैत मसान्तसम्म ९.२६ प्रतिशत वृद्धि सहित १ अर्ब ८१ कराड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ।
आम्दानीमा वृद्धि भएसँगै कम्पनीको सञ्चालन नाफा पनि समीक्षा अवधिमा ७१ करोड ६१ लाख रुपैयाँबाट १८.३४ प्रतिशतले वृद्धि भई ८४ करोड ७४ लाख रुपैयाँ नाघेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ।
त्यसैगरी समीक्षा अवधिमा बैंकको खराब कर्जा ४.२७ प्रतिशतबाट बढेर ४.४० प्रतिशत पुग्दा प्रतिशेयर आम्दानी पनि १८.७३ रुपैयाँबाट बढेर २०.०५ रुपैयाँ पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १६३.५७ रुपैयाँ रहेको छ।
चुक्ता पूँजी ४ अर्ब २१ करोड १९ लाख रुपैयाँ रहेको यस बैंकको रिजर्भ कोषमा २ अर्ब ३ करोड ७३ लाख रुपैयाँ सञ्चिति रहेको छ भने वितरणयोग्य मुनाफा ४१ करोड ७६ लाख रुपैयाँ रहेको छ। बैंकले ५३ अर्ब ५३ करोड ८६ लाख रुपैयाँ ग्राहकमा कर्जा प्रवाह गरी ६४ अर्ब ९५ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।











